
बागलुङ, २५ भदौ । कोरोना भाइरस संक्रमणको कारण काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाकी लक्ष्मी माया विकको निधन प्रति काठेखोला गाउँपालिकाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा लगायतको टोलीले शुक्रबार विकको निधनभएको १० औं दिनको पुण्यतिथिमा घरमा पुगर श्रद्धाञ्जली व्यक्त गरेको हो । पत्रकार विश्वास कुमार खड्काथोकीकी आमा तथा स्थानिय दलित अगुवा कुल बहादुर विकको भाउजु र राजन विश्वकर्माकी श्रीमती लक्ष्मी माया विकको भदौ १६ गते कोरोना भाइरस संक्रमणको कारण उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो ।
गाउँपालिका अध्यक्ष अमर बहादुर थापा, गाउँपालिका स्थानिय दलित समन्वय समितिका सल्लाहकार एवं कार्यपालिका सदस्य टिकासंगम विक, नेकपा एमाले वडा कमिटी धम्जाका उपाध्यक्ष तिलक बहादुर भण्डारी, तिनचुले बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष टोपबहादुर जिसी, धम्जा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सुर्य भण्डारी लगायतले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
तीनचुले बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव भिमलाल आलेले सञ्चालन गर्नुभएको थियो ।
गाउँपालिकाले कोभिड–१९ संक्रमणको कारण मृत्यु हुनेको परिवारलाई २० हजार रुपैयाँ राहत दिने जनाएको छ । गाउँपालिका अध्यक्ष थापाले विकको परिवारलाई पनि चाडै राहत रकम हस्तान्तरण गर्ने बताउनुभयो ।










