
काठमाडौं, २५ भदौ । आगामी महिना सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार कतारतर्फ लागेको छ।
कतारमा तीन साता प्रशिक्षण गरेपछि नेपाली टोली माल्दिभ्स पुग्ने छ । माल्दिभ्समा हुने साफ च्याम्पियनसिप अक्टोबर १ तारिखदेखि सुरु हुने कार्यक्रम छ ।
आयोजक समेत रहेको साविक विजेतासँग असोज १५ गते खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । सन् २०१८ मा बंगलादेशमा भएको पछिल्लो साफको सेमिफाइनलपछि नेपाल र माल्दिभ्सबीच पहिलोपटक भेट हुनेछ । त्यतिबेला नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो ।
मालेमा हुने च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध १८ असोजमा खेल्नेछ । त्यस्तै तेस्रो खेल नेपाली टोली साफको सर्वाधिक सफल टोली भारतसँग २४ असोजमा तथा राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले २७ असोजमा बंगलादेशसँग खेल्नेछ । राउन्ड लिगपछि शीर्ष दुई टोलीले ३० असोजमा फाइनल खेल्नेछ । नेपाली टोलीले अहिलेसम्म साफको सेमिफाइनल पार गर्न सकेको छैन ।
नेपालले हालसम्म १३ पटक साफ च्याम्पियनसिप आयोजना भइसक्दा एकपटक पनि उपाधि जित्न सकेको छैन ।
२५ सदस्यीय टोली :
किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ज्यु ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामा










