
काठमाडौं, २४ भदौ । नेपालले बंगलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशी महिला टोलीलाई २–१ ले पराजित गरेको हो ।
नेपालको लागि दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गरे । बंगलादेशका लागि तोहुरा खातुनले सान्त्वना गोल गरिन् ।
खेलको १४ मिनेटमा सविताले नेपाललाई अग्रता दिलाइन् । सविताले राइट विंगर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउँदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन् ।
खेलको २४ मिनेटमा १६ वर्षकी खेलाडी प्रीति राईले डेब्यु गोल गरेकी हुन् । प्रीतिले मिडफिल्डर सरु लिम्बूको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन् । उनको गोलसँगै नेपाल पहिलो हाफमा २-० को अग्रता बनायो ।
बंगलादेशकि तोहुरा खातुनले सान्त्वना गोल गरिन । खातुनले ८१ मिनेटमा गरेको प्रहार नेपाली डिफेण्डर अमृता जैसीलाई छुदै गोल भएको थियो ।
नेपाल र बंगलादेश दुवैले एएफसी महिला एसिया कप छनोटको तयारी स्वरूप दुई मैत्रीपूर्ण खेल खेलेका हुन् ।
दोस्रो मैत्रीपुर्ण खेल दोस्रो खेल आइतबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप २०२२ छनोट अघि नेपाल र बंगलादेशले दुई मैत्रीपुर्ण खेल खेलेको हो । नेपाली महिला टोलीले सन् २०२२ मा भारतमा हुने एसियन कपको छनोटका लागि उज्वेकिस्तानमा दुई खेल खेल्नेछ । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले १८ सेप्टेम्वरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङको सामना गर्नेछ ।











