
बागलुङ, २१ भदौ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा संचालित आदर्श सञ्चार डटकम अनलाइन तेस्रो वर्षमा प्रवेश गरेको छ ।
अनलाइन तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा सोमबार कोभिड संकट, स्वास्थ्य र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम गरी दोस्रो वार्षिककोत्स मनाइएको छ ।
वार्षिकोत्सव कार्यक्रममा धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले कोभिड संकटको समयमा बागलुङका सञ्चारमाध्यमले खेलेको भूमिका अत्यन्तै प्रभावकारी रहेको बताउनुभयो । नागरिकलाई सजक बनाउनेदेखि संक्रमण रोकथाममा समेत सञ्चारमाध्यमहरुले भूमिका खेलेको उहाँको भनाइ थियो ।
डाक्टर पोखरेलले स्वास्थ्य क्षेत्रको विकास, सुधार र प्रर्वद्धनमा संचार माध्यमले महत्वपूर्ण योगदान पु¥याएको भन्दै आगामी दिनमा संचार माध्यमको भूमिका अझ शसक्त र रचनात्मक हुनु पर्नेमा जोड दिनुभयो । जनतालाई स्वास्थ्यका बारेमा सचेत बनाउने विषयमा मिडियाको भूमिकालाई थप प्रभावकारी बनाउन सके रोगबाट हुने क्षति कम गर्न सकिने उहाँको भनाइ थियो ।
उहाँले अहिलेको युग सूचना प्रविधिको भएको भन्दै पत्रकारले आफूलाई सोही अनुसार परिवर्तन गर्द लैजानु पर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बागलुङमा कोरोना संक्रमणको अवस्था बारे जानकारी गराउनु भएको थियो । गुरौले कोरोनाको पहिलो चरणदेखि नै बागलुङका पत्रकारहरुले स्वास्थ्य सम्बन्धि सूचना प्रवाहमा अग्रणी भूमिका खेलेको बताउनुभयो । उहाँले सूचना सम्प्रेषणमा सरोकारवाला भन्दा अन्यलाई कुनै पनि तरिकाले क्षति नहोस भन्ने विषयमा थप सचेत हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बागलुङका पत्रकारहरुले कोरोना संक्रमणको समयमा आफूले भोगेका अनुभव सुनाएका थिए । कार्यक्रममा बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल, पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर विक, अधिवक्ता राम शर्मा, स्वास्थ्य विमा बोर्ड बागलुङका प्रमुख नारायण पौडेल, पत्रकारहरु प्रकाश बराल, किरण आचार्य, सुवास आचार्य लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सम्पादक रामबहादुर जिसीले आदर्श सञ्चार सहकारीले सञ्चारमाध्यम सञ्चालनमा खेलेको भूमिका, आदर्शसञ्चार अनलाइनको आवश्यकता र प्रभावकारिता तथा कार्यक्रमको औचित्यका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष हुमाकुमारी जिसीको अध्यक्षता, उपाध्यक्ष अनन्तबहादुर खड्काको स्वागत, आदर्श सञ्चार डटकमका सम्पादक दिल शिरिषको संचालनमा सम्पन्न भएको थियो ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले स्थापनाकाल २०६३ देखि धौलागिरी जागरण दैनिक, २०६८ देखि अग्रसर साप्ताहिक, २०७६ देखि आदर्श सञ्चार अनलाइन सञ्चालन गर्नुका साथै २०७० देखि सञ्चालित धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आएको छ ।
धौलागिरीमा पहिलो सूचना तथा सञ्चार सहकारी स्थापना गरी सहकारीमार्फत सञ्चारमाध्यम सञ्चालन गरेको आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ८ सय जना शेयर सदस्य, ५ करोड शेयर रकम, ३३ करोड बचत, ३५ करोड कर्जा लगानी र ४५ करोड कुल सम्पत्ती रहेको संस्थाले जनाएको छ ।










