
बागलुङ, २० भदौ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीको पिडाल्नदेखि कादेश जोड्न झोलुङ्गे पुल निर्माण गरिएको छ ।
गण्डकी प्रदेश सरकारको भ्याससहित दुई करोड ९१ लाख रुपियाँ लागतमा दोविल्ला खोलामाथि ३५९ मिटर लामो पुल निर्माण गरिएको हो ।
पुल निर्माण नहुँदा स्थानीयवासी लेखानी कादेश आवत–जावत गर्न लेखानी, भुमेचौर दोविल्ला खोला हुँदै घुमारो सडक पार गर्न करिव एक घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । दोविल्ला खोलामाथि पुल निर्माण भए पछि एक घण्टाको दुरी पाँच मिनेटमा सिमित भएको वडाध्यक्ष चित्रकला श्रीसले बताउनुभयो ।
पुल निर्माण भए पछि यात्रा छोटिनुका साथै खोलाको बाटो जोखिम लिएर हिड्न्पर्ने बाध्यताकोको पनि अन्त्य भएको छ । ‘बर्खामो खोला तर्न धेरै जोखिम र कठिन थियो’ उहाँले भन्नुभयो–‘अब बर्खा याममा पनि लेखानी र कादेशको ओहोर–दोहोर रोकिन्न ।’
दोविल्ला खोलामा विस २०७६ सालको फागुनदेखि डिटाईप पुल निर्माण गर्न सुरु भएको थियो । पटक पटकको लकडाउन र निषेधाज्ञाले निर्धारित समयमा निर्माण कार्य सम्पन्न गर्न कठिन भएको निर्माण कम्पनीका ठेकेदार ओम गौचनले बताउनुभयो । पुल चालु आर्थिक बर्षको पहिलो महिनामा निर्माण कार्य सकिएर सञ्चालनमा आएको छ ।
ठुलो पानी पर्दा दोविल्ला खोलामा आउने बाढीले बर्खाको अधिकांस समय कादेश र लेखानी दुई गाउँबीचको सम्पर्क विच्छेद हुँदै आएको थियो । विशेष गरी उच्च शिक्षा अध्ययनकोलागि कादेशदेखि लेखानी आउने विद्यार्थीको लागि पुल अति उपयोगी र सहयोगी हुने स्थानी ममता विकले बताउनुभयो ।
‘साना बालबालिकालाई एक्लै विद्यालय पढाउन खोलाको डर थियो’ उहाँले भन्नुभयो– अब त पुल बन्यो, सयम पनि कम जोखिम पनि कम भएको छ ।’ पुल बने पछि स्थानीय हर्षित छन् ।









