
म्याग्दी, १४ भदौ । बेनी नगरपालिका–८ कालीपुलमा आइतवार राति पहिरो खस्दा तीन जना घाइते भएका छन् ।
घाईतेमध्ये एक सन्तु पुन बेनी अस्पतालकै कर्मचारी हुन् । अन्य दुई जनाचाहिँ झोलामा हर्बल सामान बोकेर घुम्ती व्यापार गर्न निस्किएकाहरु हुन् । अरुको घरमा पाहुना लागेका उनीहरुको नाम खुलेको छैन ।
घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
पर्वतको जलजला गाउँपालिका–४ मल्लाजको भिर भत्केर कालीगण्डकी नदीमा बस्दा बस्तीमा छाल पसेको थियो ।
पहिरो बस्ने क्रम नरोकिएको र थप जोखिम रहेकाले पुरानो कालीपुल बजारका ३० घर जोखिममा रहेको टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले बताउनुभयो ।
मध्यरातमा अबिरल वर्षासँगै ठूलो आवाजमा पहिरो बसेपछि स्थानीयबासी भागदौड गरेर कालीपुलको माथिल्लो भागमा पुगेका थिए ।
स्थानीयबासीले रातभर सडकका पेटीमै आश्रय लिएर बसेको टोल सुधार समितिका संयोजक पुनले बताउनुभयो ।











