जवानीमा अपराध, बुढेसकालमा जेल

काठमाडाैं । २०४२ सालमा उजारी विश्वास थारु विरुद्ध जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा पर्‍यो । थलाहा गाविस–७ (हालको कटहरी गाउँपालिका) का चौधरी त्यतिबेला ५१ वर्षका थिए । २०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो ।

जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्चसम्म पुग्यो । २०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर गर्‍यो । अर्थात चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नुपर्ने भयो ।

सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे । त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो । ३६ वर्ष अघिको मुद्दामा बल्ल भदौ ९ गते पक्राउ परे । ८७ वर्षको गलेको शरीर लिएर चौधरी जेल पुगेका छन् ।

चाउरिएको अनुहार, खोपिल्टा परिसकेका गाला, गाडिएका आँखा र अधिकांश दाँत झरिसकेका चौधरीलाई सुताउन र उठाउनसमेत सहारा चाहिन्छ। तत्कालीन विराटनगर–४ (हाल विराटनगर महानगरपालिका) का धर्मध्वज थापाको घरमा २०४२ साल भदौ १८ गते राति डकैती गर्न एउटा समूह पसेको थियो । धर्मध्वजकी श्रीमती जीवनदेवीको हत्या गर्दै धनमाल लुटेर डाँका समूह गयो। धर्मध्वजले चौधरीसहित १४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रहरीले घटनामा संलग्न १४ जनाविरुद्ध खुनडाँका मुद्दा चलायो। अदालतले सबैलाई दोषी ठहर गर्दै घटना भएको १९ वर्षपछि (२०६१ सालमा) कैद सजाय र जरिवानाको फैसला सुनाएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here