
बागलुङ, ९ भदौं । राष्ट्रियसभा सदस्य शान्ति अधिकारी जिसी नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीमा संलग्न भएकी छिन् । निर्वाचन आयोगमा संघीय सांसदहरुको सनाखतसँगै उनी एमालेबाट अलग भएकी हुन् ।
बागलुङ जिल्लाकी उनी नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेशबाट रष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
एमालेबाट एकीकृत समाजवादीमा राष्ट्रिय सभाका ८ जना सांसद संलग्न भएका छन् ।
५९ सदस्यीय राष्ट्रियसभामा अध्यक्ष गणेश तिमल्सिनासहित एमालेका ३१ जना सांसद थिए भने राष्ट्रपतिबाट मनोनित वामदेव गौतम र विमला राई पौडेलसहित सो पार्टीका ३३ सांसद हुन् ।
वामदेवले माधव नेपालको पार्टीमा जाने भने पनि विभाजनमा सनाखत गरेका छैनन् ।
यसअघि नै एमालेको सूचीबाट आफ्नो नाम हटाउन निवेदन दिएका बेदुराम भुसालसहित ठगेन्द्र प्रकाश पुरी, उदया शर्मा पौडेल, नन्दा चपाई, शारदादेवी भट्ट, सिंहबहादुर विश्वकर्मा, शेरबहादुर कुँवर र शान्ति अधिकारी जिसी एकीकृत समाजवादीमा लागेका छन् ।
निर्वाचन आयोगमा पुगेर उनीहरुले दल विभाजनमा हस्ताक्षर गरेपनि शारदा भट्टको भने यसअघि दल दर्ताको बेला हस्ताक्षर नभएकाले सनाखत हुन सकेको छैन ।









