
काठमाडौं, ७ भदौ । नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले खुला प्रतिस्पर्धाबाट उत्कृष्ट डिजाइन बनाउनेले एक लाख रुपैयाँ पाउने गरी जेठ ३१ गते आवेदन खोलेको थियो ।
जर्सी डिजाइनका लागि खुला गरिएको आह्वानमा आदर्श पोखरेलको डिजाइन छानिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ५ सय वटा डिजाइन क्यानमा आइपुगेका थिए । जसबाट छनोटका लागि क्यानले ४ सदस्यीय समिति बनाएको थियो । जसमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, महाप्रवन्धक रौनक मल्ल, म्यानेजर बिनोद दास र स्पोन्सरका प्रतिनिधि रहेका थिए ।
कमिटीले छनोट गरेको डिजाइन क्यान बोर्डलाई रिपोर्ट गर्ने र बोर्डले अन्तिम निर्णय बताइएको थियो ।
पपुवा न्युगिनीसँगको दुई खेलको ओडीआईको श्रृंखला र अमेरिका, ओमानसँगको त्रिकोणीय श्रृंखला खेल्न नेपाली टिम ओमानतर्फ जाँदैछ । टिम ओमान जानुअघि टिमले नयाँ जर्सी पाएको हो । ओमानमा अब नेपाली क्रिकेट टिम नयाँ जर्सीका साथ मैदानमा उत्रिने छ ।










