
एजेन्सी – युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो कपको १६ औँ संस्करणको सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको छ । युरोपका ११ सहरमा सञ्चालन भइरहेको प्रतियोगिताको शनिबार रातिबाट क्वाटरफाइनलका खेलहरू सकिएसँगै सेमिफाइनलमा पुग्ने ४ टोलीको छिनोफानो भएको हो ।
यसपटकको युरो कपमा स्पेन, इटाली, डेनमार्क र इङ्ग्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरे । उपाधि दाबेदार मानिएको बेल्जियम, चेक गणतन्त्र, स्विट्जरल्यान्ड र युक्रेनको यात्रा क्वाटरफाइनलभन्दा अघि बढ्न सकेन । सेमिफाइनल खेल मंगलबार र बुधबार हुनेछन् ।
यस्ता छन् सेमिफाइनलका प्रतिद्वन्द्वी
स्पेन विरुद्ध इटाली
स्पेनले स्विट्जरल्यान्ड तथा इटालीले उपाधि दाबेदार मानिएको बेल्जियमको चुनौती पार गर्दै सेमिफाइनलमा एक अर्काको भेट पक्का गरे । यी दुईबीचको खेल मंगलबार राति पौने १ मा इङ्ल्यान्डको वेम्बली स्टेडियममा हुनेछ ।
इङ्ग्ल्यान्ड विरुद्ध डेनर्माक
इङ्ग्ल्यान्डले युक्रेन तथा डेनमार्क चेक गणतन्त्रलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् । यी दुईबीचको खेल बुधबार राति पौने १ बजे इङ्ल्यान्डको घरेलु मैदान वेम्बली स्टेडियममा हुनेछ ।









