
काठमाडौँ, १८ असार । आउदो बिहीबार चीनबाट १० लाख खोप आउने भएको छ । बेइजिङबाट न्यूनतम १० लाख खोप ल्याउनका लागि नेपाल वायुसेवा निगमको जहाज जाने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।
‘खोप लिन जानका लागि तयार हुनु भनेर सरकारबाट निर्देशन आएको छ,’ पौडेलले भने,’सरकारले हामीलाई खोप ल्याउनका तयार हुनु भनेकाले खुसी भएका छौ ।’ उनका अनुसार चीनबाट भेरोसेल खोप ल्याइने भएको छ । चीनबाट कूल ३० लाख खोप आउने उनले बताए । उक्त खोप ल्याउन आइतबारदेखि उडान तालिका सार्वजनिक हुने उनको भनाइ छ ।
चीनबाट ल्याएको खोप उमेर समूह अनुसार लगाइने खोप महाशाखाका डा. तारानाथ पोख्रेलले जानकारी दिए । ५५ वर्षभन्दा माथिका मानिसलाई खोप लगाइने उनले प्रस्ट पारे ।
‘खोप लगाउनका लागि मन्त्रिपरिषद्बाट कार्ययोजना परिवर्तन भएमा अन्य पेशाका मानिसलाई खोप लगाइन्छ,’ उनी भन्छन,’ खोप लगाउन बाँकी उमेर समूहका मानिसलाई लगाइन्छ ।’ कोभ्याक्स कार्यक्रमबाट अष्ट्राजेनिकाकाको खोप आएमा कोभिसिल्डको पहिलो डोज लगाएका करिब १५ लाख मानिसलाई उक्त खोप लगाइने पोख्रेलको भनाइ छ ।
हालसम्म पहिलो र दोस्रो डोज खोप गरेर १० प्रतिशत मानिसलाई खोप लगाइसकेको उनले जानकारी दिए । पहिलो डोज खोप ८ प्रतिशत र दोस्रो डोज ३ प्रतिशत मानिसले लगाइसकेको उनको भनाइ छ । महामारीमा एक खोप मानिसका लागि प्रभावकारी हुने उनको दाबी छ । कोभिसिल्ड खोपको पहिलो डोज लगाउँदा पनि करिब ६ महिनसम्म यसको उपयोगिता रहने उनले प्रस्ट पारे ।
कोभिसिल्ड एक खोपको पनि प्रभावकारीता लामो समयसम्म रहने गरेको पोख्रेल प्रस्ट पारे । भेरोसेल खोपको प्रभावकारिता ८० प्रतिशत रहेको उनको भनाइ छ । कोभ्याक्सबाट खोप ढिलोमा साउनको दोस्रो सातासम्म आइपुग्ने पोख्रेलले उल्लेख गरे । उनकाअनुसार जोन्सन एण्ड जोन्सन र अष्ट्राजेनिकाकाको खोप आउछ । अष्ट्राजेनिकाको खोप कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहेकालाई लगाइने उनको भनाइ छ ।
चीनबाट यसअघि अनुदानस्वरुप १८ लाख खोप आइसकेको छ । पहिलो चरणमा ८ लाख खोप गत वर्षको चैत १६ गते आएको थियो । १० लाख अनुदान स्वरुप पुनः आएको थियो । १० लाख खोप आएको मध्येबाट पहिलो चरणको खोप लगाएर दोस्रो चरणको खोप मंगलबार देखि लगाइँदैछ ।









