म्याग्दीमा जिप दुर्घटना : दुई जनाको मृत्यु

बेनी, १७ असार । म्याग्दीको मंगला गाउँपालिका–२ मिठौलामा बुधबार राती भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौरबाट पुर्णगाउँतर्फ जादै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तिबाट खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् ।

मंगला गाउँपालिका–१ पुर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका बिमल बिकको मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले बताए । ‘उनीहरुलाई बेनी अस्पताल ल्याईपुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए,’ उनले भने ‘घाइते ६ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।’ घाइते र मृतक सबै मंगला गाउँपालिकाको वडा नम्बर १ का हुन् ।

१९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीय एञ्जिता भण्डारी, ८ वर्षीय अदिना नेपाली, ३५ वर्षीय गिता खत्री र २३ वर्षीय अमृता रसायलीको बेनी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएको ठाउँको साँधुरो सडकको घुम्ति र ग्रेड मिलेको छैन ।

जिप सडकदेखि करिब ५०० मिटर तल खोल्सामा खसेको थियो । राती सवा आठ बजेतिर दुर्घटना भएको थियो । घाइतेको स्थानीयबासी र प्रहरीले उद्दार गरेर बेनी पठाएका थिए । सिमलचौर–मिठौला–पुर्णगाउँ मंगलाको केन्द्र बाबियाचौरदेखि वडा नम्बर १ लाई जोड्ने वैकल्पिक सडक हो ।

कोरोना संक्रमण फैलिएपछि यही असार १४ गतेदेखि २३ गतेसम्मका लागि मंगलाको १ नम्बर वडा कुहुँलाई सिल गरिएको थियो । दुर्घटना भएको जिप वडा नम्बर २ को भूगोलमा पर्ने सडक प्रयोग गरेर वडा नम्बर १ को पुर्णगाउँतर्फ जाँदै थियो । दुर्घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक बिक्रमराज गुरुङले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here