बागलुङ, ७ असार । बागलुङको काठेखोला गाउँपालिकाले कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको परिवारलाई नगदमा राहत दिन सुरु गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले कोरोनाको दोस्रो लहरमा ज्याउन गुमाउनेको परिवारलाई गाउँपालिकाले स्थापना गरेको राहतकोषबाट बीस हजार रुपियाँका दरले राहत रकम दिने निर्णय गरेको हो ।

राहत रकम प्राप्तको लागि मृतकको कोरोना संक्रमणको कारण निधन भएको प्रमाणित कागजात पेस गर्नुपर्ने छ । गाउँपालिकाले ८० लाख रुपियाँको राहत कोष स्थापना गरेको छ । उक्त कोषमा रहने गरी गतहप्ता हेफर इन्टरनेसनलले पाँच लाख रुपियाँ थप गरेको थियो ।

स्वास्थ्य शाखाको तथ्यांकको आधारमा मृतकको घरमै पुगेर राहत रकम प्रदान गरिने छ । परिवारका सदस्य गुमाएर सोकमा रहेका परिवारको साथका स्थानीय सरकार छ भन्ने अपनत्वको महसुस गराउन राहत रकमले सेतुको काम गर्ने गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताउनुभयो । गतबर्षको निषेधाज्ञामा स्थानीय तहले विपन्न परिवारको लागि खाद्यन्न सहयोग गरे पनि यस बर्ष फरक फरक प्याकेजका कार्यक्रम घोषण गरेका छन् ।

काठेखोला गाउँपालिकामा हालसम्म ९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । ‘पालिकाको क्षमता अनुसारको विपतमा सहयोग गरेका छौँ’ अध्यक्ष थापाले भन्नुभयो–‘नयाँ बजेटमा पनि कोरोना रोकथाम र राहत प्याकेज समावेश हुनेछ ।’

काठेखोला गाउँपालिका कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई राहत दिने पहिलो स्थानीय तह हो । यस अघि बरेङ गाउँपालिकाले कोरोना संक्रमित गर्भवती महिलालाई पोषणको लागि पाँच हजार रुपियाँ दिने घोषण गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here