हात्तीसँग फोटो खिच्ने क्रममा एकको मृत्यु

मोरङ, ४ जेठ । मोरङको दक्षिणवर्ती क्षेत्रमा देखिएको हात्तीसँग फोटो खिच्ने क्रममा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सुनवर्षी नगरपालिकामा भारततर्फबाट आएको एउटा हात्तीसँग सेल्फी खिच्ने क्रममा वडा नम्बर ८ का मनोहर मियाँको मृत्यु भएको हो ।

नगर प्रमुख कालीप्रसाद दासका अनुुसार हात्ती देखिएपछि गाउँलेले फोटो खिच्दै गर्दा हात्तीले आक्रमण गरेको थियो । बिहान करिब ७ बजे भएको सो घटनामा घाइते भएका २१ वर्षीय मियाँको मृत्यु भएको हो । सेल्फी खिच्ने क्रममा हात्तीको आक्रमणमा परेका उनलाई घाइते अवस्थामा विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि पुर्‍याउनासाथ मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयले भारततर्फबाट भागेर हात्ती नगरपालिका प्रवेश गरेको हुनसक्ने बताएको छ । घटनापछि स्थानीय र प्रहरीको टोलीले हात्तीलाई धपाएका थिए । धपाउने क्रममा सुनवर्षीबाट हात्ती रतुवामाई नगरपालिकातर्फ अघि बढेको थियो। त्यसपछि स्थानीयले हात्ती धपाएका थिए ।

रतुवामाईको सिजुवास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले नगरपालिका–५ मसानघाटमा रहेको हात्तीसँगै फोटो खिच्ने क्रममा एक जना घाइते भएका थिए । हात्तीले वडानम्बर ४ का ३१ वर्षीय हेमप्रसाद गिरीलाई फोटो खिच्ने क्रममा घाइते बनाएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार मदिरा सेवन गरेका गिरीले हात्तीसँग सेल्फी खिच्ने क्रममा घटना भएको हो। हात्ती आक्रमणबाट ढाडमा चोट लागेका गिरीको झुर्कियास्थित अस्पतालमा उपचार भइरहेको छ । दिनभर नगरपालिकाको सो क्षेत्रमा देखिएको हात्तीलाई प्रहरी र स्थानीयले बक्राह खोलाको किनार हुँदै दक्षिण सीमातर्फ धपाएको प्रहरी निरीक्षक खड्काले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here