
बागलुङ, १ असार । शनिबार साँझदेखि परेको अविरल बर्षाको कारण बागलुङ जिल्लाको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर पहिरोको जोखिममा परेका छन् ।
अविरल बर्षाको कारण जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका ८ घर र काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका तीन घर पहिरोको उच्च जोखिममा परेका हुन् ।
वर्षको कारण बस्ती तलबाट पहिरो जान थालेपछि जैदीका ८ घर पहिरोको उच्च जोखिममा परेको स्थानिय रेशम गिरीले जानकारी दिनुभयो । उहाँले पहिरोको कारण तीन घर परिवार आफन्तको आश्रय लिन बाध्य भएको जानकारी दिनुभयो । अन्य पाँच घरका व्यक्ति भने बसाईसरि अन्यत्रै गएकाले त्यहाँ रहेका ३ घरका ११ जना व्यक्ति आफन्तमा आश्रय लिन बाध्य भएको गिरीले बताउनुभयो ।
पहिरोको कारण कालिदाश शर्मा, लेखनाथ शर्मा र दिपक शर्माको परिवार आफन्तको आश्रय लिएर बस्न बाध्य भएका हुन् । घर पहिरोको उच्च जोखिममा परेपछि घरमा रहेका भाँडा, लत्ता कपडा समेत सुरक्षित स्थानमा सारिएको छ ।
यस्तै काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा सडक माथिबाट आएको पहिरोको कारण तीन घर विस्थापित भएका छन् । रेश हुँदै बागलुङ बजार जोड्ने सडकखण्ड अन्तरगत जिरेदीको कालिका मन्दिरदेखि गगनपानी सम्मको सडकमा माथिबाट खसेको पहिरोको सडक माथि र सडम मुनिका तीन घर विस्थापित भएको स्थानिय भुमिराज शर्माले जानकारी दिनुभयो ।
सोमबार विहान २ बजेदेखि लगातार पहिरो खसिरहेकोले सडक माथिका कृष्ण जिसी, बल बहादुर जिसी र सडक मुनीको चित्र बहादुर कार्कीको घर उच्च जोखिममा परेको वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । वर्षा र पहिरो नरोकिएकाले पहिरोले घर पुर्न सक्ने भएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।









