नेपाल जोर्डनसँग पराजित

बागलुङ, २४ जेठ । विश्वकप तथा एसियन कप छनोटको सातौं खेलमा जोर्डनले नेपाली राष्ट्रिय फुटबल टोलीलाई पराजित गरेको छ । कुवेतमा सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे । यस्तै याजन अल अरबको नाममा एक गोल रह्यो ।

यस जितसँगै जोर्डनको ६ खेलमा १३ अंक पुगेको छ भने कुवेत समान खेलमा १० अंक सहित तेस्रो स्थानमा छ । आज हुने अर्को खेलमा ५ खेलमा १५ अंकसहित शीर्षस्थानमा रहेको अष्ट्रेलियाले अंकविहिन चाइनिज ताइपेइसँग खेल्नेछ । नेपाल ६ अंकसहित चौथो स्थानमा नै छ ।

नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने हो भने कम्तिमा अर्को खेलमा जित हासिल गरेर अन्य समूहको नतिजाको प्रतीक्षा गर्नुपर्छ । हार बेहोरेपनि नेपालले प्लेअफको बाटोबाट एसियन कप छनोटमा स्थान बनाउन भने सक्नेछ । नेपालले अब अर्को खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ९:४५ सुरु हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here