
बागलुङ, २० जेठ । निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरीबाट बञ्चित परिवारलाई युवाहरुले राहत बाँडेका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरका २० घरलाई खाद्यन्न सामग्री प्रदान गरिएको युवा अभियानकर्मी सविन पाठकले जानकारी दिनुभयो ।
रु. ४२ हजार बराबरको चामल, नुन, तेललगायत वितरण गरिएको थियो । पाठकसहितका युवाको पहलमा स्वतःस्फूर्त रुपमा सङ्कलित रकमबाट सङ्कट झेलिरहेका परिवारलाई राहत बाँडिएको हो । कोरोना महामारी रोक्न निषेधाज्ञा जारी गरिएपछि दैनिक ज्याला मजदुरी गर्ने परिवारको रोजीरोटी नै गुमेको छ ।
निषेधाज्ञा लम्बिँदै जाँदा समस्या झन् चर्कने निश्चित छ । आर्थिक स्थिति कमजोर भएका परिवारको दैनिक गुजारा नरोकियोस् भनेर राहत अभियान चलाइएको पाठकले बताउनुभयो । उहाँका अनुसार राहत अभियानलाई निरन्तरता दिइनेछ ।
युवा अभियानकर्मीको टोलीले बुधबार समस्यामा परेका व्यक्तिको घरमै पुगेर राहत बाँडेका थिए ।









