कोरोना नियन्त्रणमा सक्रिय बन्दै म्याग्दीका स्थानीय तह

म्याग्दी, १७ जेठ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिइरहँदा यसको नियन्त्रणका लागि म्याग्दीका स्थानीय तहले सक्रियता बढाएका छन् ।

गाउँगाउँमा कोरोना फैलिएपछि जिल्लाका सबै स्थानीय तहले समुदायस्तरमै पुगेर स्वाब संकलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा संक्रमितसँग भेटघाट गर्ने, औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पताल लैजाने गरेका छन् ।

कोरोनाको पहिलो लहरमा रोकथाम, नियन्त्रण र उपचारभन्दा बढी प्राथमिकता खाद्यान्न वितरणमा व्यस्त भएका जनप्रतिनिधिले दोस्रो लहरमा उपचार र रोकथाममै बढी ध्यान केन्द्रित गरेका छन् । बेनी नगरपालिकाले वडास्तरमै पुगेर स्वाब संकलन गरिरहेको छ भने बिरामीको उपचारमा नगरप्रमुखले दिएको दुई निजी सवारी साधन, भाडामा र नगरपालिकाको स्वामित्वमा रहेको सवारी साधनसमेत प्रयोग गरेको छ ।

सदरमुकाम बेनीबजार रहेको वडा नं ७ र ८ बाहेक सबै वडामै पुगेर स्वाब संकलनलाई नगरपालिकाले प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । कोरोनाको सबैभन्दा बढी संक्रमित नगरपालिकाभित्रै भेटिएपछि यसपटक नगरपालिका समुदायस्तरमै विभिन्न माध्यमबाट पुगेको उनको भनाइ छ ।

होम आइसोलेशनमा बसेका संक्रमितलाई भेट्न वडास्तरमा स्वास्थ्यकर्मीसहितको टोली समेत परिचालन गरिएको छ ।

पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले वडास्तरमा स्वाब संकलन, नियमित अनुगमन तथा कोरोनाको लक्षण देखिएकालाई निःशुल्क एम्बुलेन्स सेवा, संक्रमितको अवस्था बुझ्न स्वास्थ्यकर्मीसहितको टोली

घरघरमा पुग्ने गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले जानकारी दिए । त्यसैगरी मालिका गाउँपालिकाले हरेक वडाका संक्रमितको अवस्था बुझ्न र जनस्वास्थ्यका मापदण्डको पालनामा ध्यान दिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

धवलागिरि गाउँपालिकाले संक्रमण फैलिएको बस्तीमा कोरोना परीक्षणको दायरा बढाएको छ । सबैभन्दा जोखिम रहेको वडा नं २ लुलाङमा पटकपटक कोरोना अस्थायी अस्पतालका चिकित्सकसहित जनप्रतिनिधिको टोली पुगेको छ । त्यस्तै अन्य वडामा समेत लक्षण देखिनेबित्तिकै स्बाब संकलन र एन्टिजेन परीक्षण गरिरहेको गाउँपालिकाले बताएको छ । रघुगंगा गाउँपालिकाले बस्तीमै पुगेर कोरोना परीक्षणसहित संक्रमितलाई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा राखेर उपचार गरिरहेको छ । यस्तै अन्नपूर्ण गाउँपालिकाले अस्थायी कोरोना अस्पताललाई व्यवस्थित र प्रभावकारी बनाएको छ ।

कोरोनाको पहिलो लहरमा गत राहतमा खर्च भए पनि यस वर्ष कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले समेत संक्रमण फैलिन नदिन र संक्रमतिको उपचारमै केन्द्रित हुन स्थानीय तहलाई अनुरोध गरेको थियो । यस वर्ष स्थानीय तहको सक्रियताकै कारण पिसिआरका लागि स्वाब संकलन, संक्रमितलाई आइसोलेशन र अस्पतालमै पुर्‍याउने तथा कन्ट्याक्ट ट्रेसिङमा परेकालाई समेत होम आइसोलेशनमा राख्न टोलबासीसँग समन्वयकारी भूमिकाले सहज भएको स्वास्थ्य कार्यालय म्याग्दीले बताएको छ । रासस

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here