
बागलुङ, १६ जेठ । घरेलु टिम इराकविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले हार बेहोरेको छ । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको नेपालले डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६-२ को हार बेहोरेको हो ।
पहिलो हाफमा एक समय अग्रता समेत लिएको नेपालले पहिलो हाफको अन्त्यतिर लगातार तीन गोल खाएपछि खेलमा पकड गुमाएको थियो । दोस्रो हाफमा इराकले खेलाडी परिवर्तनसँगै खेलमा आफ्नो गति कायम नै राख्दा नेपाल भने कमजोर सावित भयो । नेपालभन्दा निकै माथिल्लो स्तरको इराकविरुद्ध नेपालको प्रदर्शन भने विगतभन्दा केहि सुधारिएको देखियो । विशेषगरि पहिलो रोजाइको खेलाडीले राम्रो प्रदर्शन गरेका थिए ।
बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल थपे ।
नेपालका मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे ।
नेपाल अब जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ ।
नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०-१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।












