गल्कोटमा थप एक कोरोना संक्रमितको मृत्यु

फाइल तस्विर

बागलुङ, १५ जेठ । बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

बागलुङ जिल्लाको गल्कोट नगरपालिका वडा नम्बर २ नरेठाँटीका ९१ बर्षिय पुरुषको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

जेठ १५ गते एन्टिजिन परिक्षणमा पोजेटिभ आएका उनलाई शनिबार गल्कोट कोभिड लैजाँदै गर्दा बाटोमा मृत्यु भएको फोकलपर्सन घिमिरले बताउनुभयो । ‘कोरोनाको लक्षण देखिएपछि एन्टिजिन परिक्षण गर्दा उहाँलाई १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो,’ फोकलपर्सन घिमिरेले भन्नुभयो–‘संक्रमणपछि होम आइसोलेसनमा बस्नुभएका उहाँको शनिबार स्वास्थ्यमा समस्या आएपछि गल्कोट कोभिड अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।’

९१ बर्षिय पुरुषलाई स्वासप्रस्वासमा समस्या भएपछि दिउँसो १ बजे गल्कोट कोभिड अस्पतालमा लगिएको थियो । उहाँलाई डाक्टरहरुले अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको घोषणा गरेको फोकलपर्सन घिमिरले बताउनुभयो ।

बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here