बागलुङमा कोरोना संक्रमणबाट एकै दिन तीन जनाको मृत्यु

फाइल तस्विर

बागलुङ, १४ जेठ । कोरोना संक्रमणबाट बागलुङमा एकै दिन तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट शुक्रबार धौलागिरी अस्पतालमा उपचाररत दुई जना र ढोरपाटन कोभिड अस्पताल बुर्तिबाङमा एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

फोकलर्सन घिमिरेले ढोरपाटन कोभिड अस्पताल बुर्तिबाङमा उपचाररत ढोरपाटन नगरपालिका–५ का ६५ बर्षिय पुरुषको मृत्यु भएको बताउनुभयो । एन्टिजिन परिक्षणबाट कोरोना पोजेटिभ आएका पुरुषको शुक्रबार उपचारको क्रममा ढोरपाटन कोभिड अस्पताल बुर्तिबाङमा दिउँसो ४ बजेर ४५ मिनेटमा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

यस्तै आजै धौलागिरी अस्पतालमा उपचाररत तमानखोला गाउँपालिका वडा नम्बर ५ की ६७ बर्षिय महिला र बरेङ गाउँपालिका वडा नम्बर १ का ६५ बर्षिय पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि जेठ ६ गते धौलागिरी अस्पतालको आइसियुमा भर्ना भएकी तमानखोला–५ की ६७ बर्षिय महिलाको उपचारको क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो ।

‘जटिल प्रकारको कोभिड निमोनियाको समस्या रहेको उहाँलाई हाइफलो अक्सिजन लगाएर आइसियुमा उपचार भइरहेको थियो,’ धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले भन्नुभयो– स्वासप्रस्वासमा समस्या बढ्दै गएपछि आइसियुमा उपचारको क्रममा शुक्रबार विहान १० बजेर ४५ मिनेटमा मृत्यु भएको बताउनुभयो ।

यस्तै बरेङमा गरिएको एन्टिजिन परिक्षणमा कोरोना पोजेटिभ आएका बरेङ–१ का ६५ बर्षिय पुरुषलाई स्वासप्रस्वासमा समस्या भएपछि बिहिबार धौलागिरी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसोलेसनमा उपचाररत पुरुषको शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

कोरोनाको लक्षण देखिएपनि गम्भिर समस्या भएपछि मात्र परिक्षण गर्ने र उपचारको लागि अस्पतालमा आउनेको गर्दा उपचारमा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । ‘कोभिडको लक्षणहरु ज्वरो आउने, खोकी लाग्ने, खानाको स्वाद नआउने, शरिर दुख्ने लगायतका समस्या देखिदा पनि परिक्षण नगर्नेहरुको संख्या धेरै छ,’ फोकलपर्सन घिमिरेले भन्नुभयो–‘आफ्नै लापरवाहिले समयमै स्वास्थ्य संस्थामा नआउँदा र ढिलो गरि आउँदा उहाँहरुलाई बचाउन सकिएको छैन ।’

फोकलपर्सन घिमिरेले कोरोनाको लक्षण देखिएमा आफ्नो पालिका वा स्वास्थ्य संस्थामा खबर गरि समयमै परिक्षण गरेर उपचार गरेमा निको हुने बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयले यस हप्ता भित्र जिल्लाभर ४ हजार जनाको एन्टिजिन परिक्षण गर्ने तयारी गरेको छ । कार्यालयले जिल्लाका १० वटै पालिकामा संक्रमितको कन्ट्याक टे«सिङमा रहेका लक्षण देखिएकाहरुको एन्टिजिन परिक्षण गर्ने तयारी गरेको फोकलपर्सन घिमिरेले बताउनुभयो । स्वास्थ्य कार्यालयले संक्रमितको कन्ट्याक टे«सिङमा परेको भए र लक्षण देखिएमा पिसिआर र एन्टिजिन परिक्षण गर्न अपिल गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here