
बागलुङ, १४ जेठ । धौलागिरी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बरेङ गाउँपालिका वडा नम्बर १ का ६५ बर्षिय पुरुषको धौलागिरी अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
बरेङमा गरिएको एन्टिजिन परिक्षणमा कोरोना पोजेटिभ आएका पुरुषलाई स्वासप्रस्वासमा समस्या भएपछि बिहिबार धौलागिरी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसोलेसनमा उपचाररत उक्त पुरुषको शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।
आजै धौलागिरी अस्पतालमा उपचाररत तमानखोला गाउँपालिका–५ की ६७ बर्षिय महिलाको मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या भएपछि जेठ ६ गते धौलागिरी अस्पतालको आइसियुमा भर्ना भएकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा शुक्रबार विहान १० बजेर ४५ मिनेटमा मृत्यु भएको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो ।
बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।









