एउटै घरमा बस्ने १५ जना सहित बानपामा थप ३७ जनालाई कोरोना संक्रमण

बागलुङ, ७ जेठ । बागलुङ नगरपालिकाको एउटै घरमा बस्ने १५ जना सहित शुक्रबार थप ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धौलागिरी अस्पतालको ल्याबमा गरिएको पिसिआर परिक्षणमा बागलुङ नगरपालिका वडा नम्बर २ को एउटै घरमा बस्ने १५ जना र वडा नम्बर ४ का २० जना गरि नगरपालिकामा थप ३७ जनालाई संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख खनालले बानपा–२ को एक घरमा १० दिन अगाडी एक जनालाई ज्वरो र खोकी लागेको भन्ने खबर आएपछि फोन गरेर पिसिआर गर्ना अस्पतालमा जान अनुरोध गरेपनि पिसिआर नगरकोले घर सिल गरेर १८ जनाको पिसिआर गर्दा १५ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो । ‘१० दिन अगाडी उक्त घरमा व्यवसाय गर्ने एक जना व्यवसायीलाई ज्वरो, खोकी लागेको तर पिसिआर नगरेर टाइफाइड भएको भन्दै औषधि खाएको भन्ने सुनेको थिए,’ स्वास्थ्य शाखा प्रमुख खनालले भन्नुभयो–‘मैले नै फोन गरेर पिसिआर गर्ना भनेको थिए तर उहाँले पिसिआर गर्नुभएको रहेन्छ । उक्त घरको घरबेटीलाई स्वास्थ्यमा समस्या भएपछि केहि दिन पहिले पोखरा गएर पिसिआर गरेपछि संक्रमण पुष्टि भएको खबर आएको थियो । हामीले जनप्रतिनिधि र प्रहरीको सहायताले घरमै पुगेर उहाँहरुको पिसिआर गरेका थियौं, आज १८ जना मध्य १५ जनालाई संक्रमण पुष्टि भएको छ ।’

वडा नम्बर २ का वडा सदस्य अर्जुन घिमिरेले स्वास्थ्य शाखा र जनप्रतिनिधिहरुले भन्दा पनि पिसिआर नगरेको कारण प्रहरीको सहायता लिएर जेठ ४ गते घर सिल गरेर पिसिआर गरिएको बताउनुभयो । उहाँले घरमा एक जना विरामी भएर पोखरा आइसियुमा उपचाररत रहेकोले घर नै सिल गरेर कोरोना परिक्षण गर्नुपरेको बताउनुभयो । वडा सदस्य घिमिरेले अहिले उक्त घर सिल गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख खनालले कोरोनाको लक्षण देखिएपनि पिसिआर नगर्नेहरु धेरै रहेको बताउनुभयो । उहाँले स्वास्थ्यमा धेरै समस्या भएपछि मात्र अस्पताल आउने र पिसिआर गर्नेहरु बढिरहेको बताउँदै समयमै पिसिआर गरेर चाडै उपचार गरेमा निको चाडै हुने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here