
बागलुङ, जेठ ६ गते । एभरेष्ट बैंक बागलुङ शाखाले धौलागिरि अस्पताललाई दश थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।
कोरोना संक्रमणका जटिल संक्रमितलाई अक्सिजनको अभाव हुन थाले पछि उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले नयाँ सिलिण्डर खरिद गरेर अस्पताललाई प्रदान गरेको हो ।
बैंकले दुई लाख ७० हजार रुपियाँ मूल्यका सिलिण्डर उपलब्ध गराएको अस्पताल विकास समितिका अध्यक्ष केवी राना मगरले जानकारी दिनुभयो । धौलागिरि अस्पतालमा कोरोनाका जटिल संक्रमितलाई हाईफ्लो अक्सिजन चलाउनु पर्ने हुँदा सिलिण्डरको अभाव हुन थालेको छ ।
हालसम्म कुल १२८ वटा अक्सिजिन सिलिण्डर अस्पतालमा उपलब्ध छन् । संक्रमितको आवश्यकता अनुसार तत्काललाई १६० वटा सिलिण्डर अभाव छ । अध्यक्ष रानाका अनुसार अस्पतालले सञ्चालन गरेको अक्सिजन प्लान्टले नियमित उत्पादन दिए पनि सिलिण्डर भर्नाको लागि आवश्यक उपचारको अभाव छ ।
संघीय सरकारले नयाँ अक्सिजन प्लान्ट सञ्चालन गर्न तीन करोड रुपियाँको अख्तियारी दिएको छ । सिलिण्डर अभावमा अक्सिजन अभाव भएको सुचना प्राप्त गरे पछि सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई सहयोग गरेको एभरेष्ट बैंकका शाखा प्रबन्धक सुजित ज्ञवालीले बताउनुभयो ।
महामारीमा सबैको साथ र एक्यबद्धताबाट संकट चिर्न सकिने ज्ञवालीको भनाई छ । अस्पतालले नयाँ अक्जिन प्लान्ट निर्माणको तयारी गरेको छ । अध्यक्ष रानाका अनुसार संघीय सरकारले थप एक ५० वटा सिलिण्डर पठाउने आश्वसन दिएको छ ।
जिल्ला प्रशासनको तथ्याङ्क अनुसार सदरमुकाम स्थित धौलागिरि अस्पताल र रात्माटा आइसोलेसन कक्षमा गरी कुल १३७ वटा अक्सिजन सिलिण्डर छन् । दैनिक १६५ खपत रहेको प्रशासकीय अधिकृत गणेश गौतमको भनाई छ ।









