
बागलुङ, ४ जेठ । कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको मृत्यु भएको छ ।
धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत काठेखोला गाउँपालिकाका एक जना पुरुष र होम आइसोलेसनमा रहेकी बडिगाड गाउँपालिकाकी एक जना महिलाको मंगलबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–८ का ७९ बर्षिय एक पुरुषको मंगलबार विहान ३ बजेर १० मिनेटमा मृत्यु भएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । उहाँले स्वासप्रस्वासमा समस्या भएपछि बैशाख २५ गते अस्पतालमा भर्ना भएका ७९ बर्षिय पुरुषको उपचारको क्रममा निधन भएको बताउनुभयो ।
निमित्त मेसु डा. पोखरेलले स्वासप्रस्वासमा समस्या र जटिल कोभिड निमोनिया भएका उनलाई हाइफ्लो अक्सिजन दिएर उपचार गरिएपनि स्वासप्रस्वासमा सुधार नभएपछि उपचारको क्रममा आईतबार विहान मृत्यु भएको बताउनुभयो ।
यस्तै आजै विहान बडिगाड गाउँपालिका–४ की ७७ बर्षिय एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । बैशाख २२ गते संक्रमण पुष्टि भएकी उनको मंगलबार विहान होम आइसोलेसनमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतामा उपचारको लागि ल्याइएपनि उपचारमा कुनै सुधार नभएपछि परिवारले जेठ २ गते होम आइसोलेसनमा राख्ने भन्दै लगेको र मंगलबार विहान निधन भएको फोकलपर्सन घिमिरेले बताउनुभयो । उनलाई कोभिड निमोनिया र ब्लड प्रेसरको समस्या रहेको थियो ।
बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।









