आइसोलेसनका लागि नगद र सामग्री सहयोग

बागलुङ, २ जेठ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा अक्सिजनसहितको आइसोलेसन निर्माणका लागि तयारी थालिएको छ ।

अस्पतालमा शय्या अभाव भइरहेका बेला कोरोना सङ्क्रमितलाई केही दिन ‘होल्ड’ गरी अक्सिजन दिएर गाउँमै उपचार/निगरानी गर्नका लागि उक्त आइसोलेसन बनाउन लागिएको हो ।

वडा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार तत्काललाई चार शय्याको आइसोलेसन बनाउन लागिएको नारायणस्थान स्वास्थ्यचौकीका प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो ।

उहाँले त्यसलाई ‘होल्डिङ आइसोलेसन’का रुपमा सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो । “अस्पतालमा शय्या भरिभराउ छन्, यस्तो अवस्थामा अक्सिजन दिएर बचाउन सकिने बिरामीका लागि गाउँमै आइसोलेसन बनाउन लागिएको हो”, उहाँले भन्नुभयो ।

प्रमुख शर्माका अनुसार गम्भीर प्रकृतिका बिरामीलाई भने अस्पतालमै पठाइनेछ । स्थानीय सामुदायिक भवनबाट दुई÷तीन भित्रैमा उक्त आइसोलेसनकक्ष सञ्चालनमा आउनेछ । आइसोलेसनकक्षमा चाहिने आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनको काम भइरहेको जनाइएको छ । अक्सिजनका लागि चार वटा साना सिलिन्डर तयारी अवस्थामा रहेपनि ठूलो सिलिन्डर ल्याउन पहल भइरहेको छ ।

आइसोलेसन सञ्चालनका सोही वडाको खड्काथरमा रहेको ‘सहयात्रा समूह’ले रु. एक लाख विप्द व्यस्थापन समितिलाई आजै उपलब्ध गराएको थियो । यस्तै नमुना बस्ती निवासी गणेश नेपालीले दिवंगत बुवा जसवीर र आमा मनकलाको स्मृतिमा रु. दश हजार प्रदान गर्नुभएको थियो ।

नारायणस्थान–पोखरा सम्पर्क समितिले पनि कोरोना महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि रु. ६६ हजार बराबरको औषधि, सेनिटाइजर, मास्क, पल्स अक्सिमिटर, थर्ममिटरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको जनाइएको छ ।

सम्पर्क समितिका अध्यक्ष टीकाबहादुर खड्काले विपद् सामनाका लागि सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभएको थियो । सामग्री बुझ्दै वडाध्यक्ष चक्रबहादुर खत्रीले कोरोनाविरुद्धको लडाइँमा साथ दिन सबै पक्षसँग आग्रह गर्नुभयो । उहाँले वडामा सञ्चालन हुने आइसोलेसनमा आवश्यकता अनुसार शय्या थप्न सकिने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here