
बागलुङ, २९ बैशाख । बागलुङमा मंगलबार थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित बागलुङ नगरपालिका वडा नम्बर ४ का ७७ बर्षिय पुरुष र ढोरपाटन नगरपालिका–४ की ६६ बर्षिया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेले ७७ बर्षिय पुरुषको घरमा र ६६ बर्षिया महिलाको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताउनुभयो ।
बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार फेवा सिटि अस्पतालमा अर्नेआको अप्रेसन गरिएको उनको कोभिड शंका पछि २२ गते गण्डकी मेडिकल कलेजमा रिफर गरि परिक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । प्रमुख खनालले २८ गते परिवार र विरमीको अपेक्षा अनुसार अस्पतालबाट घर ल्याइएका उनको साँझ मृत्यु भएको बताउनुभयो ।
मृत्तक पुरुषलाई हर्नेआ र फोक्सोमा संक्रमण भएको स्वास्थ्य शाखाका प्रमुख खनालले बताउनुभयो ।
यस्तै धौलागिरी अस्पतालमा मृत्यु भएकी ६६ बर्षिया महिलाको मंगलबार विहान १० बजेर ३० मिनेटमा मृत्यु भएपनि मात्रै पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोनासँग मिल्दाजुल्दा लक्षण र स्वाब प्रस्वासमा समस्या आएपछि बुर्तिबाङबाट मंगलबार विहान धौलागिरी अस्पतालमा आएकी उनलाई अस्पतालमा भर्ना गर्दागर्दै मृत्यु भएको थियो ।
मृत्तक दुवै जनाको आज (बुधबार) अन्तिम दाहसंस्कार गरिने जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
होम आइसोलेसनमा मृत्यु भएकाहरुको घर परिवारले दाशसंस्कार गर्नुपर्ने सरकारको नियम भएपनि ७७ बर्षिय पुरुषको परिवारको विशेष अनुरोधमा नगरपालिकाले नेपाल आर्मीको सहयोगमा अन्तिम दाशसंस्कार गर्ने भएको छ । ‘नियम अनुसार होम आइसोलेसनमा मृत्यु भएकाहरुको अन्तिम दाशसंस्कारको जिम्मा सरकारले नलिने भन्ने छ,’ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख खनालले भन्नुभयो–‘मृत्तकको परिवारमा एक छोरा मात्र भएको र समुदाय पनि पछि हटेकाले परिवारको विशेष अनुरोधमा नगरपालिकाले नेपाल आर्मीको सहयोगमा अन्तिम दाशसंस्कार गर्छ ।’









