
बागलुङ, २८ बैशाख । बागलुङमा मंगलबार थप १ सय जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा बागलुङका थप १ सय जना, पर्वतका ५ जना र म्याग्दीका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
फोकलपर्सन घिमिरेले बागलुङको बागलुङ नगरपालिकाका वडा नम्बर १३ का ४४ जना र अन्य वडाका ३६ जना गरि ८० जना, तमानखोला गाउँपालिकाका १९ जना र काठेखोला गाउँपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।
फोकलपर्सन घिमिरेले म्याग्दीका १ जना, पर्वतको ५ जना, काँठेखोला गाउँपालिकाका १ जना र बागलुङ नगरपालिकाका २८ जनाको स्वाब संकलन धौलागिरी अस्पतालको स्वाब संकलन केन्द्रबाट गरिएको बताउनुभयो ।
घिमिरेले धौलागिरी अस्पतालमा १ सय ७५ जनाको स्वाब परिक्षण गर्दा १ सय ६ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।
संक्रमितहरु कन्ट्याक टे«सिङ र धौलागिरी अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।
अस्पतालमा स्वाब दिएका ४३ जनामा ३५ जनालाई संक्रमण
धौलागिरी अस्पतालमा स्वाब दिएका ४३ जना मध्य ३५ जनालाई संक्रमण पुष्टि भएको छ ।
कोरोनाको लक्षण देखिएपछि अस्पतालमा उपचारको क्रममा आएर फिबर क्लिनिकबाट पिसिआर गरेका ४३ जना मध्य ३५ जनालाई संक्रमण पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो ।
उहाँले अस्पतालमा अधिकांश कोरोनाको लक्षण सहितका विरामीहरु आएको र पिसिआर गर्दा धेरैलाई संक्रमण पुष्टि भएको बताउनुभयो ।









