
बागलुङ, २७ बैशाख । बागलुङको धौलागिरी अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १ पाङका ४७ बर्षिय पुरुषको उपचारको क्रममा आईतबार राती मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले जानकारी दिनुभयो ।
बैशाख २० गते धौलागिरी अपतालको सघन उपचार कक्षमा भर्ना भएका उनलाई अस्पतालमा गरिएको पिसिआर परिक्षणमा २१ गते संक्रमण पुष्टि भएको थियो ।
‘फोक्सोमा निमोनियाको संक्रमण र स्वासप्रस्वासमा समस्या आएपछि अस्पतालमा भर्ना भएका उनलाई सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो,’ डा. पोखरेलले भन्नुभयो–‘धेरै प्रयास गर्दा पनि बचाउन सकिएन । उहाँको आइतबार राती मृत्यु भयो ।’ डा. पोखरेलले मृत्तक पुरुषलाई कोभिड निमोनियाको साथै मिगौलामा समस्या र ब्लड प्रेसरको समस्या रहेको बताउनुभयो ।
मृत्तकको आज नेपाल आर्मिले अन्तिम दाशसंस्कार गर्ने जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
धौलागिरी अस्पतालमा हाल २ जना सघन कक्षमा सहित ३३ जना कोरोना संक्रमितहरु रहेका छन् । सवै संक्रमितहरुलाई अक्सिजन लगाउने पर्ने भएपनि १० जना संक्रमित बढि अक्सिजन लगाउने रहेकोको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पोखरेलले बताउनुभयो ।









