बागलुङ, २४ बैशाख । बागलुङ नगरपालिका स्वास्थ्य शाखाको टिमले शुक्रबार नगरपालिका भित्र होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुसँग भेटघाट गरेको छ । स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल, सि.अ.हे.व. डिल्लीप्रसाद आचार्य, वडा नम्बर १ का वडा सदस्य सुर्य लामिछानेको टिमले बागलुङ नगरपालिका वडा नम्बर १ मा होम आइसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएको थियो ।

स्वास्थ्य शाखा र जनप्रतिनिधिको टिमले संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै दैनिक ३, ४ पटक तातोपानीको बाफ लिन र भिटामिनयुक्त खाना खान अनुरोध गरेको थियो । नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले देशभर कोरोना भाइरसको संक्रमण बढेसँगै नगरपालिकामा पनि संक्रमितहरुको संख्या बढेको र धेरै जसो होम आइसोलेसनमा रहेकाले उनीहरुको स्वास्थ्य अवस्था बुझन र सल्लाह सुझाव दिँदै हौसला प्रदान गर्न अनुगमन र भेट गरिएको बताउनुभयो । उहाँले संक्रमितहरुलाई कुनै लक्षण नदेखिएमा १० दिन होम आइसोलेसन बस्न र लक्षण देखिएमा स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउन अनुरोध गरेको बताउनुभयो ।

टिमले होम आइसोलेसनमा बस्दा छुट्टै ट्वाइलेटको प्रयोग गर्न, माक्स लगायतका स्वास्थ्यका सामाग्रीहरु प्रयोग गर्न अनुरोध समेत गरेको थियो ।

‘हामीले विरामीहरुलाई नआतिइ आराम गर्न र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मी तथा स्थानिय जनप्रतिनिधिहरुलाई खबर गर्न अनुरोध गरेका छौं,’ प्रमुख खनालले भन्नुभयो ।

उक्त टिमले बानपा–१ मा होम आइसोलेसनमा बसेका १५ जनालाई भेटेको थियो । नगर स्वास्थ्य शाखाको टिमसँग होम आइसोलेसनमा बसेका विरामीहरुले आफ्नो स्वास्थ्यको जानकारी गराउनुका साथै घरमै आएर जानकारी लिएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here