धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

अर्जुन कार्की
बागलुङ, २१ बैशाख । देशभर कोरोना भाइरस (कोभिड–१९)को दोस्रो छालको कारण संक्रमितहरुको संख्या बढिरहेको छ । दैनिक नयाँ रेकर्ड सहित कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ ।

दैनिक ७ हजार भन्दा बढी विरामीहरुको संख्या बढिरहेको कारण काठमाडौंमा अस्पतालहरुमा विरामीहरुले बेड नपाउने अवस्था सिर्जना भएको छ । बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौं बस्दै आएकी ३१ बर्षिया एक जना महिलाले काठमाडौंमा बेड नपाएपछि एम्बुलेन्स मार्फत बागलुङको धौलागिरी अस्पतालमा आएकी छिन् ।

काठमाडौंमा बेड नपाएपछि ५० हजार भाडा तिरेर एम्बुलेन्स मार्फत धौलागिरी अस्पतालमा आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँले संक्रमित भएपछि काठमाडौंको अस्पतालहरुमा बेड खोजी गर्दा सहज तरिकाले बेड नपाएको कारण जिल्लामा खबर आएपछि धौलागिरी अस्पतालमा बेडको व्यवस्था गरि ल्याइएको बताउनुभयो ।

अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र वि.क. पोखरेलले काठमाडौंमा सहज तरिकाले बेड पाइएन भन्ने खबर प्राप्त भएपछि उहाँलाई अस्पतालमा बेडको व्यवस्था गरिएको बताउनुभयो । ‘काठमाडौंमा कोठा भाडामा बस्दै आउनुभएको रहेछ,’ निमित्त मेसु डा. पोखरेलले भन्नुभयो–‘कोरोना संक्रमण भएको चार दिनपछि उहाँलाई स्वास फेर्ना गाह्रो भएपछि अस्पतालमा बेडको खोजी गर्दा काठमाडौंमा सहज तरिकाले बेड नपाएको भन्दै जिल्लामा खबर आएकोले हामीले आउन अनुमति दिएका थियौं, उहाँ हिजो (सोमबार) राती एम्बुलेन्स मार्फत आइ आइसोलेसनमा भर्ना हुनुभएको छ ।’

निमित्त मेसु डा. पोखरेलले संक्रमित महिलालाई ज्वरो, खोकी र अक्सिजनको कमि रहेको बताउनुभयो । संक्रमित महिलालाई अक्सिजन दिइको र अहिले अवस्था सामान्य रहेको डा. पोखरेलले बताउनुभयो ।

२५ शय्याको आइसोलेसन कक्ष रहेको धौलागिरी अस्पतालमा मंगलबार विहानसम्म २० जना भर्ना भएका छन् । अस्पतालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित विरामी भर्ना भएको निमित्त मेसु डा. पोखरेलले बताउनुभयो । ‘कोरोना संक्रमित विरामीहरुको संख्यामा वृद्धि भइरहेको छ,’ निमित्त मेसु डा. पोखरेलले भन्नुभयो– ‘पछिल्लो २४ घण्टामा ७ जना विरामीहरु भर्ना भइसकेका छन् ।’ अस्पतालमा भर्ना हुने विरामीहरुमा धेरैमा अक्सिजनको समस्या देखिएको छ । धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना भएका २० जना संक्रमितहरु मध्य १९ जनाको अक्सिजन घटेकोले अक्सिजन दिइरहेको निमित्त मेसु डा. पोखरेलले बताउनुभयो ।

दैनिक विरामीहरुको संख्या वृद्धि भइरहेकोले केहि आइसोलेसनमा केहि बेड थप गर्ने सल्लाह भइरहेको निमित्त मेसु डा. पोखरेलले बताउनुभयो । अस्पतालमा अक्सिजन पलान्ट भएपनि विरामीहरुको संख्या बढ्दै जाँदा उपचारमा समस्या हुन सक्ने देखिएको छ । ‘अन्य विरामी भन्दा कोभिडका विरामीहरुलाई अक्सिजनको हाइफोलो चाहिन्छ,’ निमित्त मेसु डा. पोखरेलले भन्नुभयो–‘हाईडिमान्ट अक्सिजनका विरामीहरु बढ्दै गएमा अक्सिजन पलान्टले पनि थामन गाह्रो हुन्छ त्यसैले अक्सिजनका सिलिन्डरहरु पनि थप्नुपर्ने अवस्था छ ।’ अस्पतालमा अहिले साना र ठूला गरि ५० वटा अक्सिजन सिलिन्डरहरु छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here