
बागलुङ, १९ बैशाख । जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि बागलुङ नगरपालिकामा दश दिन बन्दाबन्दी (लकडाउन) गरिने भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको आईतबार बसेको बैठकले बागलुङ नगरपालिका क्षेत्र भित्र बैशाख २१ गते विहान ६ बजेदेखि ३० गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
समितिले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने र हिड्डुल नगर्ने, खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी ग्याँस लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्णपालना गरी बिहान ७ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।
समितिले बागलुङ नगरपालिका भित्रका सरकारी र सार्वजनिक कार्यालयहरु, बैंक वित्तिय संस्थाहरुमा आवश्यक भिडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालय तथा संस्था प्रमुखले आलोपालो पद्धति अनुसार न्यूनतम कर्मचारी खटाइ कार्यालय संचालन गर्ने निर्णय गरेको छ । निषेधाज्ञा अवधिमा सार्वजनिक निर्माण कार्य रोकिने छैन ।
नगरपालिका भित्र एम्बुलेन्स, दमकल, शवबाहन, खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी, विउविजन, कृषि उपज, ग्याँस तथा पेट्रोलियम पदार्थ र निर्माण सामाग्री बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जाने आउने प्रयोजनमा प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सेवाका सामाग्री बोकेका सवारी साधनहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारीबाहेक अन्य सवारीहरु सञ्चालनमा रोक लगाइएको छ ।
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघले निषेधाज्ञा जारी गर्न समितिलाई लिखित आग्रह गरेका थिए । जिल्लामा हाल १०८ जना संक्रिय संक्रमित छन् । जसमध्ये ९३ जना होमआइसोलेसन र १५ जना धौलागिरि अस्पतालमा उपचाररत छन् ।











