शिक्षाका सरोकारवालालाई क्षमता विकास तालिम

बागलुङ, १६ वैशाख । जिल्लामा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी)को प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालालाई क्षमता विकास तालिम प्रदान गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ बागलुङको आयोजनामा सोमबारदेखि बुधबारसम्म सञ्चालित तालिममा शैक्षिक योजना, प्राररम्भिक कक्षा पढाइ सामग्री र शिक्षक पेसागत सहयोग सम्बन्धी विषयमा सहभागीलाई अभिमुखीकरण गरिएको थियो ।

तालिममा एकाइ प्रमुख एवं ‘एनइजिआरपी’ जिल्ला समन्वय समितिका संयोजक कुश्मराज उपाध्याय, गलकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख रुद्रनारायण सापकोटा, ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेल, जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्य र ‘एनइजिआरपी’का जिल्ला संयोजक बुद्धिबल थापामगरले सहजीकरण गर्नुभएको थियो ।

स्थानीय तहको शैक्षिक योजना र पाश्र्वचित्र निर्माण, शिक्षक पेसागत सहयोग र पठनसीप अभिवृद्धिमा टेवा पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको एकाइ प्रमुख उपाध्यायले बताउनुभयो । “राष्ट्रिय प्राररम्भिक कक्षा पढाइ कार्यक्रमको प्रभावकारिता बढाउन स्थानीय तह र शिक्षा हेर्ने निकायलाई न्यूनतम प्याकेज लागू गराउन अभिप्रेरित गर्नु तालिमको उद्देश्य हो”, उहाँले भन्नुभयो ।

‘एनइजिआरपी’का जिल्ला संयोजक थापामगरका अनुसार तालिममा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक, विषय विज्ञ, योजना अधिकृत र सामाजिक विकास समितिका संयोजकहरुको सहभागिता थियो ।

“पहिलो चरणमा चार स्थानीय तहलाई समेटेर तालिम प्रदान गरिएको हो, बाँकी स्थानीय तहलाई अर्को चरणमा समेट्छौँ”, उहाँले भन्नुभयो, “मुलतः प्रारम्भिक तहका बालबालिकामा सिकाइ गुणस्तर सुधार्नेतर्फ कार्यक्रम केन्द्रित छ ।” हालै मात्र ‘एनइजिआरपी’ कार्यक्रम जिल्लामा लागू भएकाले त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाको क्षमता विकास र अभिमुखीकरणमा जोड दिइएको हो । कक्षा १ देखि ३ सम्मका बालबालिकामा पठनसीप विकास गर्नु उक्त कार्यक्रमको मुख्य लक्ष्य हो ।

कार्यक्रम सञ्चालनमा आएसँगै कक्षा २ र ३ का लागि जिल्लाभरका सामुदायिक विद्यालयमा अभ्यास पुस्तिका र शिक्षक निर्देशिका पठाइएको छ । यस्तै कक्षा १ मा एकीकृत पाठ्यक्रम लागू भएपछि सोही अनुसार पठनपाठन शुरु भइसकेको छ । यसअघि तीनै कक्षाका लागि ५९ शीर्षकका १७७ वटा सन्दर्भ सामग्री विद्यालयमा पठाइएको थियो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) को आर्थिक/प्राविधिक सहयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत ३८ जिल्लामा उक्त कार्यक्रम लागू गरिएको छ । प्रारम्भिक तहका बालबालिकाको पठनसीप कमजोर पाइएपछि सरकारले सन् २०१४/०१५ देखि ‘एनइजिआरपी’ शुरु गरेको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here