
बागलुङ, १४ बैशाख । बागलुङमा कोरोना विरुद्धको दोस्रो डोज खोप लगाएका दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँले अस्पतालमा कार्यरत २३ र २६ बर्षिया दुई जना महिला स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको बताउनुभयो । संक्रमित दुई जना स्वास्थ्यकर्मीले केहि दिन पहिले कोभिड–१९ विरुद्धको दोस्रो डोजको खोप लगाएका थिए ।
यस्तै मंगलबार उनीहरुसहित थप १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । फोकलपर्सन घिमिरेका अनुसार बागलुङ नगरपालिका वडा नम्बर ८ की ४८ बर्षिया एक महिला, वडा नम्बर ९ की ५४ बर्षिय एक महिला, वडा नम्बर १० का ३२, २८, ३२ र ३३ बर्षिय चार जना पुरुष, वडा नम्बर २ का ३५, ४५ र ५३ बर्षिय तीन जना पुरुष र ३९ बर्षिया एक महिला, वडा नम्बर ४ की ४५ बर्षिया एक महिला, वडा नम्बर ७ का ३७ बर्षिय एक पुरुष र काठेखोला गाउँपालिका वडा नम्बर ८ का ३२ बर्षिय एक पुरुषलाई संक्रमण पुष्टि भएको छ । काठेखोलाका संक्रमित भारतदेखि आएका हुन् ।
संक्रमितहरु होम आइसोलेसनमा बसेको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो ।
बागलुङमा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भइरहेको छ । देशभर संक्रमितहरुको संख्या बढेपछि स्वास्थ्य मापदण्ड अपनाउन सरकारले अनुरोध गरेको छ ।
बागलुङमा कोरोनाको जोखिम बढेपछि बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाले विद्यालय बन्द गरेका छन् ।









