
बागलुङ, १४ बैशाख । जैमिनी नगरपालिकाले १० दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले बैशाख १५ गतेदेखि २४ गतेसम्म सम्पूर्ण शिक्षण संस्थाहरुमा विद्यार्थीहरुको भौतिक उपस्थितीमा गरिने शिक्षण, परीक्षा, ट्युशन र कोचिङ जस्ता क्रियाकलाप बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी गराउनुभएको छ । नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)को दोस्रो भेरियन्टको प्रभावका कारण नगरपालिका समेत प्रभावित भएकोले विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको स्वास्थ्यलाई मध्यनजर गरेर १० दिन विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
नगरपालिकाले विद्यालय बन्दको समयमा विद्यार्थीहरुलाई घरमै बसी शिक्षण सिकाइ क्रियाकलापमा सक्रिय गराउन विद्यालयले विभिन्न बैकल्पिक विधि र प्रक्रिया अपनाउने, सियुजि सेवा संचालन गर्ने, भर्चुअल कक्षा संचालन गर्ने, रेडियो, टेलिभिजन, कम्प्युटर इन्टरनेट जस्ता सूचना प्रविधिको प्रयो गरि श्रव्य दृश्य सामग्री हेर्ने र सुन्न विद्यार्थी अभिभावकलाई समेत सहजिकरण गर्दे शिक्षण सिकार्य क्रियाकलाप संचालन गर्न आग्रह गरेको छ ।
बैठकले शिक्षकहरुलाई भने स्वास्थ्य मापदण्ड पालना गरि नियमित विद्यालयमा उपस्थित हुन समेत अनुरोध गरेको छ । स्वास्थ्य मापदण्ड पालना गरि नियमित विद्यालयमा उपस्थित भइ परीक्षा लगायत आन्तरिक तयारीका कार्यहरु गर्न अनुरोध गरिएको प्रमुश प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिनुभयो ।










