
बागलुङ, १८ चैत । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा चार दिनपछि ६ जना पक्राउ परेका छन् । प्रहरीले गुल्मीबाट २ जना र बागलुङबाट ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताउनुभयो ।
चैत १५ गते बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाको सिमाना बल्देधुरीमा फागु खेल्ने क्रममा झडप हुँदा २ जनाको मृत्यु भएको थियो । होली खेल्न क्रममा युवतीलाई जबरजस्ती होली लगाइदिँदा दुई समूहबीच झडप भएको स्थानियले बताएका छन् ।
घटनामा घटनामा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियारको मृत्यु भएको थियो । झडपमा अन्य ६ जना घाइते भएका छन् । घटनास्थलदेखि ४ सय मिटर तल मृतकको शव भेटिएको थियो ।
घटना भएको खबर प्राप्तभए लगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रमुख मगरको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।
अहिले घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरको नेतृत्वमा ११ सदस्य र पोखराबाट सीआईबीको टोली समेत अनुसन्धानमा खटिएको छ । घटनाको अनुसन्धान भइरहेकोले आरोपितहरु पक्राउ पर्ने क्रम जारी रहेको प्रहरी उपरीक्षक मगरले बताउनुभयो । उक्त टोलीले संलग्नको पहिचान गरिरहेको समेत छ । अनुसन्धान नसकिएकोले अहिले पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्न नसकिएको प्रउ मगरले बताउनुभयो ।
प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गर्ने गर्न थालेपछि परिवारले शव बुझेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । मृत्तक दुई जनाको मंगलबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टमको रिपोर्ट आउने बाँकी रहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।









