
बागलुङ, १७ चैत । बागलुङ जिल्लाका चार पालिकाले भोलीदेखि विद्यालयहरु खोल्ने निर्णय गरेका छन् ।
सरकारले शुक्रबारसम्म विद्यालय बन्दको आव्हान गरेपनि बागलुङ जिल्लाका चार पालिकाले विद्यालय बन्द नगर्ने भएका छन् ।
अन्य स्थानमा जस्तो बागलुङमा प्रदूषणको प्रतिकूल असर नपरेको र कोरोना महामारीको कारण पहिले नै धेरै समय विद्यालय बन्द भएको भन्दै बागलुङका चार पालिकाले विद्यालय नगर्ने बताएका छन् ।
बागलुङको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाले विद्यालय संचालन गर्ने निर्णय गरेका छन् । बागलुङ र जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाले विज्ञप्ती नै प्रकाशित गरि विद्यालय बन्द नगर्ने जनाएका छन्भने काठेखोला गाउँपालिकामा गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरुको बैठकले विद्यालय संचालन गर्ने निर्णय गरेको हुन् ।
वायु मण्डलमा अस्वाभाविक वातावरणीय परिस्थितति देखिएको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्न आव्हान गरेको थियो ।
बागलुङको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाले सूचना जारी गर्दै आफ्ना पालिका क्षेत्रमा रहेका विद्यालय बन्द नहुने जानकारी गराएका छन् । पालिकाहरुले सूचनामा आफ्ना पालिका क्षेत्रको वातावरणमा त्यस्तो कुनै अस्वभाविक परिस्थिति सिर्जना नभएको, बालबालिकाहरु घरमा भन्दा विद्यालयमा सुरक्षित हुने, वार्षिक परिक्षा नजिक आइरहेको साथै पाठ्यक्रम निर्दिष्ट गरेका सिकाइ उपलब्धीहरु प्ुरा गर्नुपर्ने सवैको जिम्मेबारी रहेको हुनाले विपद् व्यवस्थापन समितिको सिफारिसको आधारमा अहिले विद्यालयहरु यथावत् रुपमा नै संचालन हुने जनाएका छन् ।
बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडे, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा र जैमिनी नगरपालिकाका उपसचिव खेम प्रसाद आचार्यले सूचना प्रकाशित गरि विद्यालय यथावत् संचालन गर्न सवै विद्यालयलाई आग्रह गरेका छन् । यस्तै काठेखोला गाउँपालिका र पालिका अन्तरगतका विद्यालयका प्रधानाध्यापकहरुको संयुक्त बैठकले बुधबारदेखि नै विद्यालयहरु संचालन गर्ने निर्णय गरेको जनकल्याण माध्यमिक विद्यालयका शिक्षक चन्द्रमणि उपाध्यायले जानकारी दिनुभयो ।












