
बागलुङ, १६ चैत । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाको सिमाना बल्देधुरीमा फागु खेल्ने क्रममा झडप हुँदा २ जनाको मृत्यु भएको छ ।
आईतबार दिउँसो बडिगाड गाउँपालिका–१० दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा निसीखोला गाउँपालिका–७ का दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपि कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो । उहाँले निसीखोला गाउँपालिका–७ का अन्दाजी ३७ बर्षिय प्रकाश कुँवर र २९ बर्षिय दिपक दमाइको मृत्यु भएको बताउनुभयो ।
स्थानीयवासीका अनुसार झडपपछि निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका केहि युवाहरु बेपत्ता भएको आशंका गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले भन्नुभयो–‘बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा फागुमा भेला भएर रमाइलो गर्ने चलन रहेछ । त्यहीअनुसार हिजो त्यहाँ मानिसहरु भेला भएका रहेछन् । तर रमाइलो गर्दै गर्दा झगडा भएपछि ग्याङ फाइट भएको र त्यसमा दुई जनाको ज्यान गएको पुष्टि भएको छ ।’
घटनापछि आईतबार राती नै प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको एसपि मगरले जानकारी दिनुभयो । घटनामा केही सम्पर्कविहीन भएका आशङ्का गरिएकाले खोजी भइरहेको उहाँले बताउनुभयो । घटनाबारे थप जानकारी आइसकेको छैन ।
बल्देधुरीमा दुई युवाहरु विचको झडप (भिडियोः राम सुवेदीको सहयोगमा)









