
बागलुङ, १९ फागुन । काठेखोला गाउँपालिकाले आयोजना गरेको चार दिने सहकारी तथा कोपोमिस सम्बन्धी तालिम बुधबार सम्पन्न भएको छ ।
तालिमको समापन समारोहमा बोल्दै राष्ट्रिय सहकारी बैंकका केन्द्रिय संचालक राम बहादुर जिसीले सहकारीहरुले नीति तथा नियममा रहेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीहरु ऐन र नियम भित्र रहेर काम गरे मात्र सफल हुने बताउँदै उद्देश्य अनुरुप काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
समापन समारोहमा काठेखोला गाउँपालिका सामाजिक विकास समितिका संयोजक विद्यापति शर्मा, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक टिका संगम विक, सहभागिहरुको तर्फबाट कादेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक टोप बहादुर विक र साना किसान कृषि सहकारी संस्था लिमिटेड रेशका प्रबन्धक उषा थापाले बोल्नुभएको थियो ।
काठेखोला गाउँपालिकाको आर्थिक विकास समितिका संयोजक युक्त प्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रमको संचालन गाउँपालिकाका सहकारी विभागका अधिकृत उत्तम पौडेलले गर्नुभएको थियो ।
फागुन १६ गतेदेखि संचालन भएको तालिममा गाउँपालिकामा रहेका सम्पूर्ण सहकारीका ४९ जना संचालक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
चार दिनसम्म राष्ट्रिय सहकारी बैंकका केन्द्रिय संचालक राम बहादुर जिसी, गाउँपालिकाका सहकारी विकास अधिकृत उत्तम पौडेल र गाउँपालिकाका सूचना अधिकृत विजय गौतमले सहकारीको नीति, नियम, व्यवस्थापन र कोपोमिस सफ्टवेयरको बारेमा सहजिकरण गर्नुभएको थियो ।









