बागलुङ, २५ माघ । बागलुङको ताराखोला गाउँपालिकाले व्यवसायिक फलफूल खेतीलाई प्रोत्साहन गर्न थालेको छ ।
कृषकलाई व्यवसायिक फलफूल खेतीमा आबद्ध गर्नको लागि गाउँपालिकाले फलफूलका विरुवा अनुदानमा वितरण गरेको हो । पहिलो चरणमा छ सय कृषकलाई व्यवसायिक बनाउने अभियान थालेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो ।
सरकारले घोषणा गरेको फलफूल दशक कार्यक्रम अन्तर्गत ताराखोला गाउँपालिकाका किसानलाई व्यावसायिक फलफूल उत्पादन गर्ने गरी विरुवा वितरण थालेको हो । गाउँपालिकाले यो वर्ष ओखर, किवी र आल्मोनका विरुवा वितरण गरेको तारोखाला गाउँपालिकाका सूचना अधिकारी प्रकाश गैरेले बताउनुभयो ।
दुई हजार आठ सय दाँते ओखरका कलमी विरुवा टर्कीबाट खरिद गरेको र नेपालमै किनेको चार हजार गरी हामीले छ हजार आठ सय ओखरका विरुवा वितरण गर्न थालेको गैरेले बताउनुभयो ।
फलफूलका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । कृषि प्राविधिकले ताराखोलाको सबै ठाउँ ओखरको उपयुक्त भन्ने सिफारिस गरे पछि सबै वडाका किसानलाई ओखरका विरुवा वितरण भैरहेको गरेको भनाई छ ।
सबै किसानलाई कम्तीमा १० वटाका दरले बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले किवी र आल्मोनको विरुवा पनि किसानलाई वितरण गरेको छ । किवी पकेट क्षेत्र पहिलेदेखि नै छ, अहिले नयाँ परीक्षणका लागि आल्मोनका बिरुवा पनि वितरण गर्दैछौं,’ गैरेले भन्नुभयो–ताराखोलाको पँधेराखोला र बराहखोला क्षेत्रमा मात्रै तीन हजार ओखरका बिरुवा लगाइँदैछ ।
बिरुवा रोप्नकाmस् लागि एक खाल्डो बराबर ३० रुपियाँ गाउँपालिकाले अनुदान दिनेछ । सबै कार्यक्रम गरी ओखरका लागि २७ लाख बजेट विनियोजन भएको गैरेले जानकारी दिए । यो वर्ष ताराखोलामा १६ सय किवीका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका कृषि शाखाका कर्णखर भट्टराईले जानकारी दिनुभयो । टर्कीबाट ल्याएको क्लेन्डर नामको ओखरको कलमी बिरुवाको प्रति बिरुवा ५ सय ५० रुपियाँ मूल्य र नेपालमै किनिएको विजु बिरुवालाई भने प्रति बिरुवा ७५ रुपियाँ मूल्य परेको छ ।
किवीको बिरुवा खरिदका लागि ताराखोलाले करिब १० लाख रुपियाँ लगानी गरेको छ । ताराखोला गाउँपालिका कार्यालयका चिन्तामणी शर्माका अनुसार यो वर्ष ६ सय जना किसानलाई व्यावसायिक फलफूल खेतीमा लैजाने गाउँपालिकाको योजना छ । यस वर्ष पाँच सय जनाले ओखरका बिरुवा,५० जनाले किवी र ५० जनाले आल्मोनका बिरुवा गरी गाउँपालिका भित्रका ६ सय जना किसान फलफूल खेतीमा आबद्ध हुने छन् ।









