बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट कोरोना खोप लगाउन सुरु

बागलुङ, २० माघ । बागलुङ जिल्लाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट कोरोना खोप लगाउन सुरु गरिएको छ ।

गण्डकी प्रदेशमा नै पहिलो पटक जिल्ला अस्पताल बाहेकको अस्पालबाट खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँले हरेक जिल्लामा एक अस्पतालबाट मात्र खोप सेवा सुरु गरिएपनि बागलुङमा धौलागिरी अस्पताल र ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप सेवा संचालन गरिएको बताउनुभयो ।

फोकलपर्सन घिमिरेले जिल्ला कोभिड खोप समन्वय समिति बागलुङले सोमबार बागलुङ जिल्लाको पश्चिमभेगका तीन पालिकाबाट बागलुङ बजार आउन स्वास्थ्यकर्मीहरु र खोप लगाउनेहरुलाई गाह्रो हुने भएकाले बुर्तिबाङबाट सेवा संचालन गर्ने निर्णय गरेअनुसार आज (मंगलबार)देखि खोप सेवा संचालन गरिएको बताउनुभयो । ‘पश्चिम भेगको तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाका स्वास्थयकर्मीहरुको लागि बुर्तिबाङ स्वास्थय केन्द्रबाट खोप सेवा संचालन गरिएको हो,’ घिमिरेले भन्नुभयो–‘सरकारले निःशुल्क उपलब्ध गराएको खोप लगाउन पश्चिम भेगबाट जिल्ला सदरमुकाम आउन र बस्दा अन्य खर्च महंग्रो पर्न जाने भएकाले उहाँहरुको सहजताको लागि दुई स्थानबाट खोप सेवा संचालन गरिएको हो ।’

बागलुङमा हालसम्म १ हजार ३ सय ११ जनाले खोप लगाएका छन् । मंगलबार मात्र ४९ जना स्वास्थ्यकर्मी र ५४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले खोप लगाएको कोभिड–१९ फोकलपर्सन घिमिरेले बताउनुभयो । उहाँले धौलागिरी अस्पतालको खोप केन्द्रबाट बागलुङ नगरपालिकाका ७ जना, जैमिनी नगरपालिकाका ४ जना, ताराखोला गाउँपालिकाका १ जनाले खोप लगाएको बताउनुभयो । यस्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको खोप केन्द्रबाट तमानखोला गाउँपालिकाका १६ जना, ढोरपाटन नगरपालिकाका १६ जना र बडिगाड गाउँपालिकाका ५ जनाले खोप लगाएका छन् ।

मंगलबार धौलागिरी अस्पतालको खोप केन्द्रका स्वास्थयकर्मीहरुले जिल्ला कारागार कार्यालय बागलुङमा रहेका कैदिबन्दीहरुलाई खोप लगाएका छन् । जिल्ला कारागार कार्यालयमा रहेका १ सय २९ जना पुरुष र ९९ जना महिला गरि जम्मा २ सय २८ जनालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here