
अर्जुन कार्की
बागलुङ, १९ माघ । प्रथम शहिद कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि बागलुङ क्रिकेट क्लब र धौलागिरी क्रिकेट क्लब प्रतिस्पर्धा गर्ने भएका छन् ।
सोमबार भएको सेमिफाइनल खेलमा बागलुङ क्रिकेट क्लबले मालिका सेवा समाज र धौलागिरी क्रिकेट क्लबले कुश्मा क्रिकेट क्लब ‘ए’लाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा बागलुङ क्रिकेट क्लबले मालिका सेवा समाजलाई ९ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
मालिका सेवा समाजले प्रस्तुत गरेको ९० रनको लक्ष्य पछ्याएको बागलुङले ११.३ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । बागलुङका लागि ओपनर रमेश बस्नेतले ३४ बलमा ५० रनको अर्धशतकीय पारि खेले । बुद्ध थापाले २८ रन बनाए ।
मालिका सेवा समाजको लागि एक मात्र विकेट राम्जी शर्माले लिएका थिए ।
यस अघि टस जितेर पहिले व्याटिङ गरेको मालिका सेवा समाजले २० ओभरमा ९ विकोट गुमाएर ८९ रन बनाएको थियो । मालिकाको लागि लक्की सापकोटाले ३३ बलमा २ छक्का र ४ चौकाको मद्धतमा ४२ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झना लायक रहेन ।
बागलुङ क्रिकेट क्लबको लागि सन्दिप पन्तले ४ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर ४ विकेट लिए । पहिलो खेलबाटै उत्कृष्ट बलिङ गरिरहेका पन्त खेलको म्यान अफदि म्याच चुनिए । बागलुङका लागि विश्व कार्की, कुशल खड्का, गणेश थापा र सुवास भण्डारीले समान १/१ विकेट लिए ।
यस्तै आजै भएको दोस्रो सेमिफाइनल खेलमा कुश्मा क्रिकेट क्लब ‘ए’लाई ३ विकेटले पराजित गर्दै धौलागिरी क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको छ ।
कुश्माले प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य धौलागिरी क्रिकेट क्लबले १८.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । धौलागिरीको जितको लागि ओपनर अनिश जिसीले ३२ रन, कप्तान दिपकजंग कुँवरले २९ र साहिल कार्कीले १८ रन बनाए ।
कुश्माको लागि पार्सिङ पुनले ३, साइमन पौडेलले २ र अविशेक खड्का र अविशेक थापाले समान १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको कुश्माले २० ओभरमा ५ विकेट गुमाएर १ सय २२ बनाएको थियो । कुश्माको लागि कप्तान अविशेक थापाले ५५ रनको अर्धशतकीय पारि खेलेका थिएभने विकास क्षेत्रीले २६ रनको योगदान दिए ।
धौलागिरी क्रिकेट क्लबको लागि जगत बहादुर छन्त्यालले २, रोम थापा र याम क्षेत्रीले समान १/१ विकेट लिए ।
प्रतियोगिताको फाइनल भोली (मंगलबार) हुनेछ ।
जिल्ला क्रिकेट विकास समितिको आयोजनामा भएको प्रतियोगितिाको विजेताले १५ हजार रुपैयाँ र उपविजेताले ८ हजार रुपैयाँ प्राप्त गर्ने समितिका अध्यक्ष विष्णु आचार्यले खबरवे अनलाईनलाई जानकारी दिनुभयो ।









