
अर्जुन कार्की
बागलुङ, १८ माघ । प्रथम शहिद कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलको समिकरण पुरा भएको छ ।
आईतबार समुह चरणका अन्तिम खेलमा कुश्मा क्रिकेट क्लब र धौलागिरी क्रिकेट क्लबले जित हात पारेपछि सेमिफाइनल समिकरण पुरा भएको हो ।
आईतबार भएको पहिलो खेलमा कुश्मा क्रिकेट क्लबले न्यू एरा क्रिकेट क्लबलाई १ सय ५१ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । कुश्मा क्रिकेट क्लबले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष पक्षाएको न्यू एरा क्रिकेट क्लब ८.१ ओभरमा ११ रनमा अलआउट भएपछि कुश्मा विजयी भएको हो ।
कुनै पनि व्याट्सम्यानले जिम्मेबारीपूर्ण व्याटिङ नगरेपछि न्यू एरा ११ रनमा सवै विकेट गुमाउन पुग्यो । न्यू एराका लागि विशाल बोहोरा र प्रविन जिसीले समान २/२ र बिक्रम बोहोराले एक रन बनाउनु बाहेक अन्य खेलाडीले खाता नै खोल्न सकेनन् ।
कुश्माका सिमन पौडेलले ३ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिए । उनी खेलको म्यानअफदि म्याच चुनिए ।
कुश्माको लागि अविशेक थापाले २.१ ओभरमा २ रन खर्चेर २ विकेट र अमृत्त श्रेष्ठ र पुश्कल गौडेलले १/१ विकेट लिए ।
त्यसअघि ट्स हारेर पहिले व्याटिङ गरेको कुश्माले अविशेक थापाको अर्धशतकीय पारिको मद्धतमा २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । थापाले २ छक्का र ११ चौकाको मद्धतमा ३४ बलमा ६३ रन बनाए । मुनाल कुँवरले २१, जग्दिश भुसालले १६ र पुश्कल गौडेलले १० रन बनाएका थिएभने १ जना खेलाडीले खाता नै खोल्न सकेनन् ।
न्यू एराको लागि विक्रम बोहोराले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएभने प्रविन जिसीले २, विपिन किसान र किशोर सुवेदीले १/१ विकेट लिए ।
जितपछि कुश्मा क्रिकेट क्लब (ए) दुई खेलमा एकमा जित र एकमा हार पछि २ अंकका साथ समुह ‘ए’बाट समुह चरणबाट उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस्तै आजै भएको समुह ‘बि’को अन्तिम खेलमा जित हात पार्दै धौलागिरी क्रिकेट क्लब समुह विजेता भन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा मालिका सेवा समाजलाई पराजित गरेको धौलागिरीले दोस्रो खेलमा कुश्मा क्रिकेट क्लब ‘बि’लाई ८१ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
धौलागिरी क्रिकेट क्लबले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष पक्ष्याएको कुश्मा क्रिकेट क्लब ‘बि’ १५ ओभरमा अलआउट हुँदै ३५ रनमा समेटियो ।
कुश्माको लागि मनोज पुरि शाहिले ८ बलमा ११ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झना लायक प्रदर्शन गरेनन् । कुश्माका दुई जना खेलाडीले खाता नखोली पवेलियन फर्केका थिए ।
धौलागिरीका दिनेश बुढा मगरले ३ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । उनी खेलको म्यान अफदि म्याच घोषित भए । अविशेक ठकुरी, जगत छन्त्याल, आयुश खत्री, दिपक कुँवर र तेजेन्द्र मगरले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको धौलागिरीले खराव सुरुवात गरेपनि कप्तान दिपक कुँवर र दिनेश बुढा मगरले समालिएर व्याटिङ गरेपछि समानजनक स्कोरमा पुगेको थियो । धौलागिरीको लागि कप्तान दिपक कुँवरले ४४ बलमा ५ चौका र १ छक्काको मद्धतमा ४५ रन बनाएभने दिनेश बुढा मगरले ३ चौका र २ छक्काको मद्धतले २७ बलमा ३१ रन बनाए ।
कुश्मामा मनोज पुरिले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । यस्तै सुजन क्षेत्री ४ ओभरमा २४ रन खर्चेर ३ विकेट र सन्देश शाही ठकुरी र अशोक कार्की १/१ विकेट लिए ।
कुश्मा क्रिकेट क्लब दुई खेलमै पराजित भएपछि मालिका सेवा समाज समुह ‘बि’बाट उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत भोली सोमबार सेमिफाइनलका खेलहरु हुनेछन् । पहिलो सेमिफाइनल बागलुङ क्रिकेट क्लब विरुद्ध मालिका सेवा समाज र दोस्रो सेमिफाइनलमा धौलागिरी क्रिकेट क्लब विरुद्ध कुश्मा क्रिकेट क्लब ‘ए’ विच हुने जिल्ला क्रिकेट विकास समितिका सचिव फडिन्द्र खड्काले खबरवे अनलाईनलाई जानकारी दिनुभयो ।
जिल्ला क्रिकेट विकास समितिको आयोजनामा भएको प्रतियोगितिाको विजेताले १५ हजार रुपैयाँ र उपविजेताले ८ हजार रुपैयाँ प्राप्त गर्ने समितिका अध्यक्ष विष्णु आचार्यले जानकारी दिनुभयो ।









