रोजगारीमा बहिरा मैत्री नीति र कोटा निर्धारण गर्न माग

बहिरा संघको २०औँ वार्षिक साधारणसभामा सहभागी

नवीन शिशिर विक
बागलुङ, १७ माघ । बहिरा समुदायको रोजगार सुनिश्चिताको लागि सरकारले हरेक सार्वजनिक निकायमा बहिरा मैत्री रोजगार नीति र कोटा निर्माण गर्न बहिराहरुले माग गरेका छन् ।

जन्मजात सुन्न र बोल्न नसक्ने बहिराहरुको लेखन तथा संचारको भाषा अन्य अपाङ्गको भन्दा कमजोर हुने हुँदा अपाङ्ग कोठा भित्र पनि बहिराहरु बीच मात्र प्रतिस्पधा गर्न सक्ने व्यवस्था गर्न माग गरेका हुन् ।

बागलुङ बहिरा संघको २०औँ वार्षिक साधारण सभामा बोल्दै धौलागिरी बहिरा विद्यालयका सहायक प्रधानध्यापक सन्तोष पौडेलले भन्नुभयो–‘शारीरिक तथा दृष्टिविहिन अपाङगसँग बहिराहरु प्रतिस्पर्धा गर्न कठिन हुन्छ ।’ अपाङ्गको विविधिकरणमा सकरात्मक विभेदको नीति अवलम्बन गर्नुपर्ने उहाँको भनाई थियो ।

नेपालमा हालसम्म दुई जना बहिरा समुदायका व्यक्तिले मात्र लोकसेवा आयोगको प्रतिस्पर्धाबाट नाम निकाल्न सफल भएका छन् । बहिराको संचार अधिकारलाई सुनिश्चित गर्न प्रत्येक पालिकाल दोभाषे व्यवस्था गर्नुपर्ने उहीको माग थियो ।

‘संचार विहिन अवस्थामा केही गर्न सकिदैन’ बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले भन्नुभयो–‘अपाङ्गता ऐनमा भएको व्यवस्था अनुसार सबै पालिकाले दोभाषे राख्नु पर्छ ।’ ऐन कार्यान्वयनमा स्थानीय सरकारले अग्रसरता नदेखाए सबै क्षेत्रबाट आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो ।

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले स्थानीय तहबाट हुने कर्मचारी व्यवस्थापनमा बहिराको लागि छुट्टै कोटा निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘अहिलेसम्म केन्द्र कै नियम अनुसार कर्मचारी छनौट र व्यवस्थापन हुँदै आएको छ’ उहाँले भन्नुभयो–‘नगरले आन्तरिक स्रोतबाट कर्मचारी व्यवस्थापन गर्दा, सकरात्मक विभेदको नीति लिने छौँ ।’ नगरपालिकाले दोभाषेको व्यवस्थापन गर्न बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

अझै पनि संघीयताको पूर्ण अभ्यासन गर्न नपाएको बताउँदै उहाँले अपाङ ऐनले स्थानीय सरकारलाई प्रदान गरेको जिम्मेवारीलाई आगमी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here