
अर्जुन कार्की
बागलुङ, १७ माघ । प्रथम शहिद कप टि–२० क्रिकेट प्रतियोगितामा बागलुङ क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आफ्नो दोस्रो खेलमा जित हातपार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
जिल्ला क्रिकेट विकास समिति बागलुङले आयोजना गरेको प्रतियोगिताको दोस्रो दिन शनिबार भएको आफ्नो दोस्रो खेलमा कुश्मा नगरपालिकालाई ४६ रनले पराजित गर्दै बागलुङ क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
जितको लागि १ सय १२ रनको लक्ष पाएको कुश्मा क्रिकेट क्लब (ए) २० ओभरमा ८ विकेट गुमाएर ६५ रनमा समेटिएको थियो । बागलुङ क्रिकेट क्लबका बलर सन्दिप पन्तले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिएपछि कुश्मा सस्तैमा समेटिएको हो ।
सुरुवातदेखि नै खराव व्याटिङ गरेको कुश्माको लागि अमित श्रेष्ठले अविजित ३५ बलमा १३ रन जोडनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कुश्माका चार जना व्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।
बागलुङ क्रिकेट क्लबको लागि सन्दिप पन्तले ४, विश्व कार्की, कुशल खड्का, गणेश थापा र सुवास भण्डारीले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको बागलुङ क्रिकेट क्लबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो ।
खराव सुरुवात गरेको बागलुङको लागि पाँचौं नम्बरमा व्याटिङ गर्न आएका सुवास भण्डारीले ३९ बलमा १ छक्का र ६ चौकाको मद्धतमा अविजित ४६ रन बनाएपछि समानजन स्कोरमा पुगेको थियो । खेलको म्यान अफ दि म्याच भण्डारी बनेका थिए ।
पहिलो खेलमा अर्धशतक प्रहार गरेका बागलुङका ओपनर रमेश बस्नेत दोस्रो खेलमा १३ रनमा आउट भए । बागलुङको लागि रविन कार्कीले १६ र बुद्ध बहादुर थापाले १५ रन बनाएका थिए ।
कुश्माको लागि अविशेक थापाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिएभने, अविशेक खड्का, अमित श्रेष्ठ, विकास क्षेत्री र पासिङ पुनले समान १÷१ विकेट लिएका थिए ।
यस्तै आजै भएको दोस्रो खेलमा जित हात पार्दै मालिका सेवा समाजले सेमिफाइनलको यात्रा जिवितै राखेको छ । पहिलो खेलमा धौलागिरी क्रिकेट क्लबसँग पराजित भएको मालिकाले आफ्नो दोस्रो खेलमा कुश्मा क्रिकेट क्लब (बि)लाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलको आशा बाँकी राखेको हो ।
कुश्माले प्रस्तुत गरेको ७६ रनको लक्ष मालिकाले ८ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । मालिकाको जितको लागि लक्की सापकोटाले ३ छक्का र ३ चौकाको मद्धतमा अविजित १९ बलमा ३५ रन र जशमिन थापाले २८ बलमा १९ रन बनाए ।
कुश्माको लागि अशोक कार्कीले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको कुश्मा १४.४ ओभरमा ७५ रन बनाउँदा सवै विकेट गुमाएको थियो ।
खेलको म्यान अफ दि म्याच बनेका मालिकाका कप्तान अनिल आचार्यले २.४ ओभरमा १३ रन खर्चेर ६ विकेट लिएपछि कुश्मा सस्तैमा समेटिएको थियो ।
कुश्माको लागि सन्देश शाहिले ४ छक्का र १ चौकाको मद्धतमा १३ बलमा ३१ रन बनाउनु बाहेक अन्य खेलाडीको सम्झना लायक प्रदर्शन हुन सकेन् । कुश्माका दुई जना खेलाडीले खाता नै खोल्न सकेनन्भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
मालिकाको लागि कप्तान अनिल आचार्यले ६, विशाल केसीले २ र लक्की सापकोटाले १ विकेट लिए ।
लिग कम नकआउट चरणको आधारमा खेलाइएको खेलमा भोली (आईतवार) लिग चरणका अन्तिम खेल हुनेछन् । भोलीको पहिलो खेलमा न्यू एरा क्रिकेट क्लब विरुद्ध कुश्मा क्रिकेट क्लब ‘ए’ र दोस्रो खेल धौलागिरी क्रिकेट क्लब विरुद्ध कुश्मा क्रिकेट क्लब ‘बि’ विच हुने समितिका सचिव फडिन्द्र खड्काले खबरवे अनलाईनलाई जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले ८ हजार रुपैयाँ प्राप्त गर्ने समितिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।











