नेकपा बागलुङका गाउँ र नगर कमिटीका अध्यक्ष र सचिव कुन पक्षमा ?

बागलुङ, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि बागलुङ जिल्लाका नगर र गाउँकमिटिका प्रमुखहरु कुन पक्षमा लाग्ने भन्नेमा अलमलमा परेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपि शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले त्यसको विरोध गर्दै केन्द्रिय कमिटिको बैठक आव्हान गरेपछि ओली पक्षले पनि केन्द्रीय बैठक आव्हान गरेको थियो । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल लगायतले मंगलबार छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बसेसँगै नेकपा औपचारिक रुपमा विभाजनको भएको छ ।

पार्टीको विभाजन पछि दुवै पक्षले पार्टी फुटाएको एकअर्कालाई आरोप लगाउँदै पार्टीको नाम ‘नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) र चुनाव चिन्ह ‘सुर्य’ आफ्नो पक्षमा हुनुपर्ने दावी गरेका छन् । प्रचण्ड–नेपाल पक्षले पार्टीको नाम र चुनाव चिन्ह सुर्य आफुले पाउनुपर्ने भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छभने ओली पक्षले पनि पार्टीको प्रथम अध्यक्ष र महासचिव आफ्नो पक्षमा रहेकाले पार्टीको नाम र चुनाव चिन्ह सुर्य आफुले पाउनुपर्ने बताउँदै आएको छ ।

केन्द्रिय तहमा पार्टी फुटेको घोषणा भइसक्दा बागलुङ जिल्लाका १० ओटै पालिकाका कमिटिका नेताहरु भने अलमलमा परेका छन् । बागलुङ जिल्लाको गाउँकमिटि र नगर कमिटिका अध्यक्ष र सचिवहरु पार्टी फुट्नुमा शिर्ष तहका नेताहरु प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपाल जिम्मेबार रहेको बताएका छन् । जननिगरानी साप्ताहिक पत्रिकासँग कुरा गर्दै गाउँकमिटि र नगरकमिटिका अध्यक्ष र सचिवले पदको लागि जनभावना विपरित पार्टीको विभाजन गरेको र संसद विघटन गरेको शिर्ष नेताहरुलाई आरोप लगाएका छन् ।

बागलुङ नगरपालिका नगरकमिटिका अध्यक्ष धन बहादुर परियारले पार्टी फुट्नुमा ओली, प्रचण्ड र नेपालको दोष भएपनि प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्ष ओलीले अभिभावकत्व अपनाउनुपर्नेमा गैरसंवैधानिक कदम चालेर संसद विघटन गर्नु राम्रो नभएको बताउनुभयो । उहाँले आफुलाई प्रचण्ड–नेपाल पक्षको भन्ने आरोप लागेपनि प्रधानमन्त्रीले गरेको गैरसंवैधानिक कदम सच्चिएमा ओली पक्षमा लाग्न सक्ने बताउनुभयो । सचिव इन्द्र केसीले संसद विघटन गरि ओलीले प्रतिगमन कदम चालेकोले सबै अग्रगामी शक्तिहरु त्यसको विरुद्धमा एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले ओलीको प्रतिगमन कदमको विरुद्धमा प्रचण्ड–नेपाल पक्षले विरोध गरिरहेकोले आफुले उक्त पक्षलाई साथ दिएको बताउनुभयो ।

गल्कोट नगरपालिका नगर कमिटिका अध्यक्ष ललित श्रीस र सचिव डम्मर श्रीसले पार्टी फुटाउनुको मुख्य दोषी ओली भएकोले आफुहरु प्रचण्ड–नेपाल पक्षमा लागेको बताउनुभयो । उहाँले गल्कोटका नेकपा कार्यकर्ताहरुलाई पनि सोहि पक्षमा खुलेर लाग्न आव्हान गरेको बताउनुभयो ।

यता बरेङ गाउँपालिका गाउँकमिटिका सचिव प्रेमराज पौडेलले अहिले आफु तटस्थ रुपमा बसेको बताउनुभयो । उहाँले पार्टी फुटाउनुमा शिर्ष तीन नेताहरु जिम्मेबार रहेको र पार्टीको नाम र चुनाव चिन्हको लागि निर्वाचन आयोगले निर्णय नगरेकोले आफु तटस्थ बसेको बताउनुभयो । उहाँले जुन पक्षले तानाशाह र भ्रष्टचार विरुद्ध काम गर्ने एजेण्डा ल्याएर आउँछ त्यतै लाग्ने बताउनुभयो । गाउँकमिटिका अध्यक्ष प्रदिप थापासँग सम्पर्क हुन सकेन् ।

ढोरपाटन नगरपालिका नगरकमिटिका लक्ष्मण पुनले अदालतले जुन पक्षलाई संस्थापन मान्छ आफु त्यसैमा आवद्ध हुने बताउनुभयो भने सचिव भिम गौतम प्रचण्ड–नेपाल पक्षमा लागेको बताउनुभयो । अध्यक्ष पुनले नेकपा फुट्नु देशको लागि नै दुर्भाग्य रहेको बताउनुभयो । यस्तै सचिव गौतमले दुई तिहाइ प्राप्त गरेको पार्टीबाट प्रधानमन्त्री भएका ओलीले देश विकासको लागि केहि काम नगरि जनभावना विपरित संसद विघटन गरेकोले आफु प्रचण्ड–नेपाल पक्षमा लागेको बताउनुभयो ।

दक्षिणको जैमिनी नगरपालिका नगरकमिटिका अध्यक्ष इन्द्र थापा र सचिव झमन पाण्डेले आफुहरु प्रचण्ड–नेपाल पक्षमा रहेको बताउनुभयो । उहाँहरुले पार्टी फुट्नुमा मुख्य दोली ओली रहेकोले आफुहरु प्रचण्ड–नेपाल पक्ष तिर लागेको बताए ।

पश्चिमको निसीखोला गाउँपालिका गाउँकमिटिका अध्यक्ष कुविर विकले अहिले कुन पक्ष भनेर लाग्ने बेला नभएको बताएका छन्भने सचिव रुद्रप्रसाद शर्माले आफु पर्खा र हेरको अवस्थामा रहेको बताउनुभयो । अध्यक्ष विकले जनताको चाहना अनुरुप दुई तिहाइको जितका साथ पाँच वर्षलाई सरकार चलाउन दिएपनि शिर्ष तहका नेताहरुको आन्तरिक कलहको कारण पार्टी फुटेको बताउनुभयो । यस्तै सचिव शर्माले शिर्ष नेताहरु जनताको लागि नभइ व्यक्तिगत स्वार्थको लागि पार्टी फुटाएको आरोप लगाउँदै निर्वाचन आरोग र अदालतको निर्णयलाई पर्खि रहेको बताउनुभयो ।

बडिगाड गाउँपालिका गाउँकमिटिका अध्यक्ष गुणानिधि घिमिरे आफु कुनै पक्षमा नखुलेको बताउनुभयो । उहाँले शिर्ष तहका नेताहरुले आफ्नो स्वार्थको लागि पार्टी फुटाएर नाम र चुनाव चिन्हको लागि निर्वाचन आरोग र अदालतमा मुद्धा दायर गरेकोले उक्त निर्णय नहुँदासम्म आफु कुनै पक्षमा नलाग्ने  बताउनुभयो । ’ सचिवसँग सम्पर्क हुन सकेन ।

ताराखोला गाउँपालिका गाउँकमिटिका अध्यक्ष पदम खत्रीले संस्थापन पक्षमा लाग्ने बताउनुभयो । उहाँले संस्थापन पक्ष कुन भन्ने निर्वाचन आयोगले निर्णय गर्ने भएकोले आफुले उक्त निर्णय पर्खिरहेको बताउनुभयो । यस्तै तमानखोला गाउँपालिका गाउँ कमिटिका अध्यक्ष नरेन्द्र छन्त्यालले आफु स्वतन्त्र रुपमा बस्ने बताउनुभयो । अध्यक्ष छन्त्यालले भने–‘केन्द्रमा ओलीले पाटी फुटाले भनेझै हाम्रो कुरा पनि जिल्ला कमिटिले मान्दैन त्यसैले पार्टीमा हामी कतै नलाग्ने र स्वतन्त्र रुपमा बस्ने भन्ने सोचि रहेका छौं । हामी हेर र पर्खको अवस्थामा छौ्र ।’

यता काठेखोला गाउँपालिका गाउँ कमिटिका अध्यक्ष डिल बहादुर कार्कीले जुन पक्ष आधिकारिक हुन्छ आफु त्यसैमा लाग्ने बताउनुभयो । कार्कीले नेकपा र सुर्य चिन्ह जुन पक्षमा हुन्छ त्यो पक्ष नै आधिकारिक हुने बताउँदै आफु पार्टी फुटाउने पक्षमा नलागी संस्थापन पक्षमा रहने बताउनुभयो ।

अध्यक्ष कार्कीले पार्टी फुट्नुमा दुवै पक्षको गल्ती रहेको बताउनुभयो । ‘दुवै पक्षको गल्तीको कारण पार्टी फुटेको हो,’ अध्यक्ष कार्कीले भन्नुभयो–‘जनताले पाँच वर्षको लागि दुई तिहाईको जित दिलाएर सरकार संचालनको लागि दिएपछि दुवै पक्षको कारण जनता माथि कुठराघात भयो ।’

कार्कीले सरकारले घोषणा गरे अनुसार बैशाखमा निर्वाचन नहुने ठोकुवा समेत गर्नुभयो । ‘कुनै पनि हालतमा निर्वाचन हुँदै,’ अध्यक्ष कार्कीले भन्नुभयो–‘निर्वाचन भएपनि कुन नाक लगेर जनताको घर, घरमा भोट माग्न जाने ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here