कृषि विकास कार्यालयको भवन खाली गरिदिन बागलुङ नगरपालिकालाई प्रदेशको निर्देशन

बागलुङ, १२ पुस । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशले बागलुङ नगरपालिकालाई कृषि कार्यालयको भवन खाली गरिदिन निर्देशन दिएको छ ।

बागलुङ नगरपालिकाले कार्यालय संचालन गर्दै आएको जिल्ला कृषि कार्यालयको भवनमा कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना हुने भएकाले कार्यालय खाली गरिदिन आग्रह गर्दै पत्र काटेको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पौष ६ गतेको मिति राखेर बागलुङ नगरपालिकालाई कृषि विकास कार्यालयको परिसर भित्रको कार्यालय तथा भवनमा नगरपालिकाको कार्यालय सञ्चालन गरिएकोले उक्त कार्यालय नेपाल सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण भइ कृषि ज्ञान केन्द्रको नामबाट कार्यालय सञ्चालन भएको र प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवा सवै प्रदेशका सवै जिल्लाहरुमा सहज रुपमा प्रवाह गर्न उक्त भवनमा सो मन्त्रालय मातहतको नयाँ कार्यालय स्थापन गरि कार्य संचालन गर्नुपर्ने भएकोले नगरपालिकाको कार्यालयले उपयोग गरेका साविक कृषि विकास कार्यालयका भवन उपलब्ध गराइ सहजिकरण गर्न अनुरोध गरेको छ ।

बागलुङ नगरपालिकाले वडा नम्बर तीन रातमाटामा रहेको आफ्नो भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राहि जानको लागि गाह्रो पर्ने भएको भन्दै २०७५ मंसिर २७ गते बागलुङ बजारमा रहेका तीन सरकारी कार्यालय जबरजस्ती ओगटेर सेवा सुरु गरेको थियो । बजारभन्दा केहीमाथि रात्माटामा आफ्नै भवनमा रहेको कार्यालयबाट सेवा सञ्चालन गरिरहेको नगरपालिकाले बजारबाटै सेवा प्रवाह गर्न कृषि ज्ञान केन्द्र, महिला तथा बालबालिका कार्यालय र भू–संरक्षण कार्यालयमा बोर्ड टाँगेर सेवा सुचारु गरेको थियो ।

उक्त समयमा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, उप–प्रमुख सुरेन्द्र खड्का र वडाध्यक्ष र कार्यपालिका सदस्यसहित जनप्रतिनिधिको टोलीले उक्त कार्यालय पुगेर नगरपालिकाको बोर्ड राख्नुका साथै कार्यालयमा भएका कर्मचारीबाट तालाचाबी समेत नियन्त्रणमा लिएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here