
बागलुङ, ११ पुस । पावर फिटनेस क्लबले आयोजना गरेको कोभिड–१९ कप फाइभ ए साइड फुटबल प्रतियोगिता अन्तरगत दोस्रो दिन आज शनिबार सात खेल सम्पन्न भएका छन् ।
शनिबार मुसुराबारी फुटबल क्लब, गुठी युनाइटेड, रिभर विच (ए), रस आवर फुटसल, बागलुङ मनकामना, मुलपानी फुटबल क्लब र लाल दुर्गा (वि) विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शनिबारको पहिलो खेलमा मुसुराबारी फुटबल क्लबले रेशलाई २–१ गोलअन्तरले पराजित गरेको छभने दोस्रो खेलमा गुठी युनाइटेडले जय दुर्गा कन्सल्टेन्सीलाई ३–० गोलअन्तरले पराजित गर्यो ।
तेस्रो खेलमा रिभर विच (ए)ले बलेवा फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्योभने रसआवर फुटसल क्लबले युनाइटेड फोर क्लबलाई १–० गोलअन्तरले पराजित गरेको छ । रसआवरले पेनाल्टीमा गोल गर्दै जित हात पारेको हो ।
आज भएको पाचौं खेलमा बागलुङ मनकामनाले ट्राइबेकरमा पावर फिटनेस क्लब (वि)लाई २–१ गोलअन्तरले पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा सम्पन्न भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
छैठौं खेलमा मुलपानी फुटबल क्लबले लाल दुर्गा (ए)लाई ६–० गोलअन्तरले पराजित गरेको छभने सातौ खेलमा लाल दुर्गा (वि)ले कुश्मालाई २–१ गोलअन्तरले पराजित गरेको छ ।
प्रतियोगिता अन्तरगत भोली (आईतबार) समुह चरणको अन्तिम खेल निलगिरी फुटबल क्लब विरुद्ध मुलपानी फुटबल क्लब विच हुने प्रतियोगिताका खेल संयोजक सौगात खड्काले जानकारी दिनुभयो । उहाँले भोली नै क्वाटर फाइनल र सेमिफाइनलका खेलहरु सम्पन्न हुने बताउनुभयो ।
सोमबारसम्म संचालन हुने प्रतियोगिताको विजेताले खसी र उपविजेताले दश केजी कुखुरा प्राप्त गर्ने पावर फिटनेस क्लबका अध्यक्ष विकास थापाले जानकारी दिनुभयो ।