एमालेले बनाएको भवनमा बस्न पाइदैन भन्दै ओली समूहका कार्यकर्ताले अध्यक्षलाई कार्यालयमै थुनिदिए

बेसीसहर, ६ पुस । एमालेले बनाएको भवनमा बस्न पाइँदैन भन्दै नेकपा अध्यक्ष केपी शर्मा ओली निकट युवा तथा विद्यार्थीहरुले नेकपा लमजुङकी अध्यक्ष मधुमाया अधिकारीलाई २ घण्टा कार्यालयमै थुनिदिएका छन् ।

गण्डकी प्रदेशसभा सदस्य समेत रहेकी अधिकारी कार्याकारी अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) निकट नेत्री हुन् । ओली निकट राष्ट्रिय युवा संघ र विद्यार्थी संगठनका नेता कार्यकर्ताले लमजुङको बेसीसहरस्थित पार्टी कार्यालयको अध्यक्ष र सचिवको कार्यकक्षमा ताला समेत लगाएका छन् ।

नेकपाले एकीकरण गर्दा तत्कालीन माओवादी नेत्री मधुमाया अधिकारीलाई अध्यक्ष र एमाले नेता धनञ्जय दवाडीलाई सचिव बनाएको थियो ।

सोमबार कार्यकक्षमा बसिरहेकी अधिकारीलाई ओली निकट युवा तथा विद्यार्थीले एमालेले बनाएको भवनमा बस्न पाइँदैन भन्दै नाराबाजी गरी ताला लगाएर थुनेका थिए । अध्यक्ष अधिकारीले आफूलाई २ घण्टा कार्यकक्षमा थुनेको बताइन् ।

युवा र विद्यार्थीले भने अध्यक्षलाई नथुनेको बरु बाहिर आउन आग्रह गरेर ताला लगाएको जिकिर गरेका छन् । ओली निकट युवा र विद्यार्थी अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएर नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए । ‘आफ्नै अध्यक्ष र प्रधानमन्त्रीलाई घेराबन्दी गरेर असफल बनाउन खोज्नेहरु कार्यालयमा बस्न आवश्यक छैन । एमालेले बनाएको भवनमा बसेर केपी ओलीको विरोध गर्न पाइँदैन, दिइँदैन,’ राष्ट्रिय युवा संघका संयोजक ऋषि बस्नेतले भने ।

सोमबार दिउँसो नै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका युवा, विद्यार्थीलगायतले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कदमको विरोधमा पार्टी कार्यालय नजिक भीमसेनस्थान चोकबाट नाराबाजी गर्दै बजार परिक्रमा गरी शेराचोकमा कोणसभा गरेका थिए । प्रचण्ड निकट नेकपा नेता मेखबहादुर भण्डारी, युवा संघका केन्द्रीय सदस्य हिरालाल विश्वकर्मा, नेकपा बेंसीसहर नगर कमिटी सचिव शोभा थापा लगायत विरोध र्‍यालीमा सहभागी थिए ।

Soc: annapurnapost.com

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here