बागलुङमा राष्ट्रिय जनमोर्चाको मोटरसाइकल र्‍याली

बागलुङ, ३ पुस । राष्ट्रिय जनमोर्चा बागलुङले संघीयता र देशमा बढ्दै गइरहेको भ्रष्टाचारका बिरुद्ध बागलुङ सदरमुकाममा मोटरसाइकल र्‍याली गरेको छ ।

गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका बिरुद्ध संघर्ष गरौं भन्ने उदघोषका साथ जनमोर्चाको देशव्यापी कार्यक्रम अन्तरगत बागलुङमा पनि मोटरसाईकल र्‍याली सम्पन्न गरेको हो । जिल्लाका बिभिन्न ठाउँबाट आएको मोटरसाईकल जुलुस राष्ट्रिय जनमोर्चा कार्यालयबाट सुरु भई बजारका बिभिन्न स्थानको परिक्रमा गरि लोकतान्त्रिक चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।

जुलुसपछि आयोजित बिरोध सभालाई संम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापाले संघीयता नेपाल र नेपाली जनताका लागि अभिसाप भएकाले असफल हुदै गएको दावी गर्नुभयो । राष्ट्रियता कमजोर बन्दै गएको बेला सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउदै थापाले संघीयता बिरुद्धको आन्दोलन सशक्त बनाउन जोड दिनुभयो । थापाले दुई तिहाइको सरकार राष्ट्रियता र गणतन्त्रको सवालमा गम्भिर नबनेका कारण राजवादीहरु चलमलाउन थालेको बताउनुभयो ।

सरकारको अधिनायकवादी चरित्रका कारण मरेका शक्तिहरुले शिर उठाउने मौका पाएको आरोप लगाउँदै थापाले राजवादीहरुलाई पुनः राजतन्त्र लिएर सरकार चलाउने सपना नदेख्न आग्रह गर्नुभयो । उहाँले नेकपा भित्रको आन्तरिक बिवादले देश र जनताले दुख पाउने बातावरण बनेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले गणतन्त्रवादी शक्तिहरु एक भएर राष्ट्र र राष्ट्रियताको सवालमा अगाडि बढ्नुको सट्टा एउटै पार्टी भित्र भएको पदको खिचातानीले जनताले दुई तिहाईको सरकार भएको अनुभुति गर्ने स्थिती नआएको बताउनुभयो ।

देशको बागडोर सम्हालेका व्यक्तिले रातारात अध्यादेश ल्याएर जनता र गणतन्त्रको खिल्ली उडाएको उल्लेख गर्दै ढुङ्गानाले सरकारका गलत क्रियाकलापको बिरोध गर्न आम जनतालाई आग्रह गर्नुभयो । कार्यक्रम जिल्ला सचिव भिमलाल पोखरेलले सञ्चालन गर्नु भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here